पोखरामा २५ लाख राशीको ड्रागन बोट रेस प्रतियोगिता

fishtail hospital

पोखराः आगामी पुस १३ देखि १५ गतेसम्म पोखरामा ड्रागन बोट रेस प्रतियोगिताको दोस्रो संस्करणको तयारी थालिएको छ ।

२० टिमले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताको विजेता टोलीले ५ हजार, दोस्रोले २ हजार र तेस्रो हुने टिमलाई १७ सय डलर पुरस्कार राशी दिइनेछ । प्रतियोगितामा ५ सय र २ सय मिटर स्पर्धामा प्रतिष्पर्धा हुनेछ ।

लेखनाथको बेगनास र पोखराको फेवातालमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएका छन् । प्रतिष्पर्धामा सहभागी हुन छिमेकी मुलुक चीनबाट ११, सिंगापुरबाट १ टीम आउनेछन् भने बाँकी ८ स्थानीय टोली रहनेछन् ।

गतवर्ष भएको पहिलो संस्करणबाट उत्साही रहेका आयोजक यसपटक प्रतियोगिता अझ भव्य र आकर्षक हुने दाबी गर्छन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्ड प्रतियोगिताको आयोजक रहेका छन् ।

यसै विषयमा जानकारी दिँदै चिनियाँ दूतावासका डेपुटी राजदूत वाङ् सीले नेपाल र चीनबीच प्राचीनकालदेखि सुरु भएको मित्रतालाई अझ घनिष्ठ बनाउन यस्ता प्रतियोगिताले थप मद्दत पुग्ने विश्वास गरे ।

‘चीन र नेपालको सम्बन्ध धेरै पुरानो हो, खेलको माध्यमबाट अझ दीगो बनाउन चाहन्छौं’ सीले भने ‘नेपालको हरेक दुख र पीडामा चीन साथ रहँदै आएको छ, हामी नेपाल र नेपालीको समृद्धि र प्रगति हेर्न चाहन्छौं ।’

खेलले सम्बन्धमात्र हैन यहाँको पर्यटन र विकासलाई पनि टेवा दिने विश्वास रहेको सुनाउँदै उनले भने, ‘यहाँको भौतिक पूर्वाधारमा सहयोग गर्न हामी कटिबद्ध छौं, नेपाल प्रगतिको बाटोमा छ ।’

महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिताको आयोजक बन्न पाउँदा गौरवान्वित भएको बताउँदै चिनियाँ प्रतिनिधिहरुको प्रशंसा गरे । प्रतियोगिताले पर्यटनलाई सघाएको र पोखराको विकासमा चिनियाँ सहयोगको निरन्तरताको विश्वास व्यक्त गरे ।

पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै गएको बताउँदै वाटर स्पोर्टस थप नयाँ आकर्षण भएको मेयर आचार्यको भनाई छ ।

कार्यक्रममा पर्यटन, महानगर र चिनियाँ दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

Scroll to Top