पोखरा ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई शुद्ध र सफा पानीको व्यवस्था गरेको बताए ।
नयाँ टेक्नोलोजीको विकास र प्रयोग भएको भन्दै पोखराका प्रमुख आचार्यले पोखराको फोहोर पानी व्यवस्थापनमा जाइकाको सहयोग हुनेमा विश्वास व्यक्त गरे ।
मेयर आचार्यले पोखरा भौगोलिक विशालता र जनसंख्या बृद्धिदर उच्च भएकाले पानीको माग बढ्दै गएको उल्लेख गरे ।
खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभा सापारो वाटर ब्युरो जापानका सोता नामिकीले सञ्चालन गरेका थिए ।
महाप्रबन्धक श्रेष्ठले जापान सरकार जाईका र सापारो वाटरले दिएको नविनतम प्रविधिको प्रयोग संस्थानले अन्य शाखाहरुमा विस्तार गर्दै व्यवहारमा उतार्ने बताए । श्रेष्ठले जापानमा २ पटक र नेपालमा २ पटक भएको तालिम समापन सभामा सिकेको सीपलाई उपयोग गर्नेमा जोड दिएका थिए ।
पानीको चुहावटबाट हुने क्षति, पानीको शुद्धताको लागि गरिने परीक्षण र सीप हस्तान्तरणको लागि भएको तालिममा सापारो वाटर ब्यूराका पोलिसी प्लानिङ म्यानेजर निसीहारा गुचीले स्वच्छ पिउने पानीको विरतणलाई व्यवस्थित बनाउन दीगोरुपमा नेपाली प्राविधिक टिमको महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा जाईका नेपाल अफिसका प्रमुख माचुजाकी मिजुकीले ५० वर्षदेखि जापान सरकारले एसियाली मुलुकहरुमा गर्दै आएको सहयोगको चर्चा गर्दै पानीको चुहावट नियन्त्रण र गुणस्तरको सीप हस्तान्तरणले सम्वन्ध प्रगाढ बनेको बताए ।
२० वर्ष अघि हनिमुन मनाउन पोखरा आएको स्मरण गर्दै प्रमुख मिजुकीले पोखराको हर विकासमा जापान सरकारको पूर्ण सहयोग रहनेमा जोड दिएका थिए ।
समापन सत्रमा नेपाल खानेपानी संस्थानको तर्फबाट ईन्जिनियर बुद्धरत्न महर्जनले जाईका टिम तथा सापारो वाटर वक्सबाट सिकेको सीपले संस्थानबाट उपभोक्तालाई दिने सेवा प्रभावकारी बनाएको बताए ।
नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ईन्जिनियर आशिष कार्की, हेम्जा शाखाका प्रमुख इन्जिनियर सन्तोषकुमार दास, इन्टरप्रेटर अखिलेश कुमार कर्ण, लभ ग्रिन नेपालको अध्यक्ष अमिरा दली लगायतले बोलेका थिए ।
कार्यक्रममा लिसनिङ स्टिक, लिक डिटेक्टर, लिक न्वाईज, कोरोलेसन, पाईप लोकेटर र डिपेचर, मेन्टिनेन्स अफ् नेटर्वक लगायतका सामग्रीले जमिन भित्र हुने पानीको चुहावटलाई नियन्त्रण गर्न सहज हुने बताईएको थियो ।
लव ग्रिन नेपालकी अध्यक्ष अमिरा दलीले जाईका अन्तर्गत पोखरा नगरको खानेपानी आपूर्ति सेवा र वितरण व्यवस्थापनको व्यवस्थितीकरण परियोजनालाई आफूले महत्वपूर्ण र उपलब्धीमुलक ठानेको उल्लेख गर्दै एचआईसिसी, एसडब्लुबी, एनडब्लुएससी, सापोरो वाटर वक्र्स र जाइका होक्काईदोको सहकार्यमा तालिम सम्पन्न भएको उल्लेख गरिन् ।