नयाँलिपिः चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपा सभापति रवि लामिछानेसँग मंगलबार र बुधबार बयान लिएको छ ।
२ दिनमा १५ घण्टा लगाएर लिइएको बयानमा ७५ वटा प्रश्न सोधिएको छ । उनलाई पहिलो दिन ५ र दोस्रो दिन १० घण्टा बयान लिइयो । बयान करिब ४२ पृष्ठ रहेको कार्यालय स्रोतले जनाएको छ ।
बुधबार राती ८ बजेसम्म लगातार १० घण्टा प्रश्न सोधिएको थियो । बयान लिने क्रममा रास्वपा कार्यकर्ता र उनका शुभचिन्तकले जिल्ला प्रहरी कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकाक्रममा रास्वपा समर्थक र प्रहरीबीच झडप हुँदा दुबै पक्ष घाइते भएका छन् । प्रहरीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उनलाई राति ८ बजेपछि पोखरा पठाएको हो ।
यससँगै, रविलाई पोखरामा आइतबार म्याद थप्ने तयारी भइरहेकाले यता पठाइएको चितवन प्रहरीको भनाई छ ।
बुधबार प्रहरी कार्यालय चितवनकै हिरासतमा रविलाई राखिने र बिहीबार बिहान जहाजमार्फत पोखरा पठाउने भनिएपनि रास्वपाको प्रदर्शन र सुरक्षाकै कारण उनलाई रातारात पोखरा ल्याइएको हो ।
लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसबीच लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।