पुसदेखि फार्मेसीमा युनिफर्म र परिचयपत्र अनिवार्य गर्दै परिषद्

पोखराः नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुने भएको छ ।

यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उनले बताए ।

औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।

 

Exit mobile version