पोखराः चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता ल्याइने छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लैजाने प्रहरीको तयारी छ । यसअघि गत ८ भदौमा साहारा सहकारी ठगी प्रकरणको मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । अहिले विचाराधीन अवस्थामा रहेको उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको थियो ।
त्यतिबेला सहकारीका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालदै मुद्दा दायर गरेको थियो ।