पोखराः नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ । उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । यो नेपाली खेलकुदमा हालसम्म भएका कुनै पनि प्रतियोगिताको विजेताले पाएकामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।
नेपाल क्रिकेट संघको आयोजना हुने नेपाल प्रिमियर लिग आजबाट सुरु भएकाे छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दैछन् ।
सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।