पोखराः महर्षि श्रीशिव कृपानन्द स्वामीजीको सहभागितामा जीवन रुपान्तरणको नारासहित मंसिर १५ गते पोखरा रंगशालामा ध्यानयोग महाशिविर आयोजना हुने हिमालय समर्पण ध्यानयोग नेपालले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० का सद्भावना दूतसमेत रहेका कृपानन्द स्वामीजीले नेपालबाट ध्यानयोग सिकेर विश्वव्यापी रुपमा प्रचारप्रसार गरेको जानकारी दिए । उनले ४५ वर्षअघि नेपालको पशुपतिनाथदेखि रसुवासम्मको आध्यात्मिक यात्रा गरेको स्मरण गरे ।
उनले ३० वर्ष पहिले नेपालमा प्राप्त ज्ञान सकेसम्म प्रचारप्रसार गरेको जानकारी दिँदै सद्भावना दूत कोभिड १९ का कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले बेलायत, भारत, जर्मनी, सिंगापुर, श्रीलंका, नेपालका सांसदहरुलाई ध्यान योग सिकाएको सुनाए ।
पोखराका मेयर धनराज आचार्यले कृपानन्द स्वामीजीको सहभागितामा हुन लागेको ध्यानयोग शिविर पोखरेलीका लागि दुर्लभ र अनुपम अवसर भएको प्रतिक्रिया दिए । कृपानन्द स्वामीजी ४ पटक नेपाल आएको जानकारी दिँदै उनले स्वामीजीको सहभागितामा पहिलो पल्ट पोखरामा गर्ने कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने बताए ।
हिमालय समर्पण ध्यानयोग नेपालले गत मंसिर ७ गते काठमाडौं हलचोकमा र मंसिर ९ गते महेश सन्यास आश्रम देवघाटमा ध्यानयोग गरेको छ ।