फेवा किनारमा आइसीसी, सम्भवतः पोखरामा खेलिनेछ क्रिकेट विश्वकप !

पाेखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रतिनिधिमण्डल बुधबार बिहानको पारिलो घाममा फेवातालको किनारबाट दक्षिणी डाँडामा रहेको विश्व शान्ति स्तुपा नियालीरहेका थिए । टोलीका २ सदस्यसँगै रहेका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पोखराको वर्णन गर्दै सिंगै आइसीसीको ध्यान खिच्न मेहेनत गर्दै थिए ।

आइसीसीका वरिष्ठ प्रबन्धक रोहित पोद्दार र प्रवद्र्धन अधिकृत मोहम्मद अमिन्युल इस्लामलाई लिएर अध्यक्ष चन्द मंगलबारै पोखरा उत्रिएका हुन् । पछिल्लो समय नेपाली क्रिकेटको नतिजाबाट प्रभावित आइसीसी नेपालको विविध पक्ष अवलोकन गर्न आएकाबेला चन्दले उनीहरुलाई पोखरा ल्याएका हुन् ।

टोलीले मंगलबार लथालिंग अवस्थामा रहेका पोखरा क्रिकेट स्टेडियमको अवलोकन गरेपछि आज पत्रकारसँग अन्तरक्रियासमेत गरेको छ । सोही अन्तरक्रियाअघि आइसीसी र क्यानका प्रभावशाली व्यक्तित्वले फेवा किनारमा ‘सफ्ट डिप्लोम्यासी’को अभ्यास गरे ।

सन् २०२७ मा आयोजना हुने यू–१९ महिला टी २० विश्वकपको बंगलादेशसँगै सहआयोजक रहेको नेपालको अवस्था बुझ्न आइसीसी प्रतिनिधि यहाँ आएका हुन् । काठमाण्डौंको त्रिविस्थित स्टेडियममा विश्वकप आयोजना हुने भएपनि पोखरामा पनि केही खेल खेलाउन सकिने सम्भावना रहेको अध्यक्ष चन्दको धारणा छ । तर त्यसलाई सम्भव बनाउन पोखरा महानगर, प्रदेश सरकार र संघले लगानी गर्नुपर्ने उनले सुनाए ।

‘पोखरालाई समेत विश्वकप आयोजनास्थल बनाउने भनेरै हामी यहाँ आएका हौं’ अध्यक्ष चन्दले भने ‘तर कमजोर पूर्वाधारकाकारण खेल हुनेमा विश्वस्त हुन सकिन्न ।’ क्यानले प्राविधिकपक्षलगायतमा सहयोग गरे पनि संरचना निर्माणमा भने सरकार र सम्बन्धित निकायनै कस्सिनु पर्ने उनले स्पष्ट पारे ।

विश्वकप सुरु हुन मात्र २० महिना बाँकी रहेको भन्दै हाल पोखरा स्टेडियममा खाली चौरमात्रै रहेको उनले उल्लेख गरे । आइसीसी प्रतिनिधिले स्वयं अवलोकन गरिसकेकाले खाली मैदानमा खेल नहुने भन्दै चन्दले सरकार अग्रसर भए सम्भावना रहेको सुनाए ।

मंगलबार प्रदेशका खेलकुदमन्त्री र पोखरा महानगरका मेयरसँग भएको सम्वादमा आश गरिहाल्न गाह्रो परेको उनको बुझाइ छ । यद्यपि, मेयर धनराज आचार्यले भने पोखरामा विश्वकपको खेल हुने निश्चित गराउनसके कुनैपनि हालतमा स्टेडियम निर्माण पुरा गर्ने वचन दिएका छन् । यस आर्थिक वर्षमा छुट्याइएको १ करोड रुपैयाँले पहिलो चरणको आधारभूत संरचनासमेत निर्माण नहुने चन्दको धारणा छ ।

आइसीसीका प्रतिनिधिमण्डलहरु फेवा किनारबाट विश्व शान्ति स्तुपा नियाल्दै

आइसीसीका वरिष्ठ प्रबन्धक पोद्दारले एशोसियट राष्ट्रको प्रदर्शन अनुसार परिषद्ले सहयोगको खाका तयार पार्दै वितरण गरेको सुनाए । ‘आइसीसीले हाल प्राविधिक सहयोगमा जोड दिएको छ, पोद्दार भन्छन् ‘आइसीसीले विगत ४ वर्षदेखि क्यानमार्फत विभिन्न सहयोग गरेको छ । स्थान, हावापानी र खेललाई आधार बनाएर के–कस्तो पूर्वाधारमा सहयोग गर्न सकिन्छ, त्यही गरिनेछ ।’

अर्का प्रतिनिधि इस्लामका अनुसार क्यानले पोखरा स्टेडियमलाई निकै महत्व दिएकै कारण यहाँ आएर अवलोकन गरेको बताए । उनले नेपाली खेलाडीलाई कुनैपनि आयोजनामा सहभागिताभन्दा माथि उठेर जीतका लागि खेल्नु पर्ने सुझाउँदै सोही प्रदर्शनका आधारमा आइसीसीबाट विविध साथ, सहयोग पाउन सकिने बताए ।

विश्वकप आयोजना गर्न आवश्यक न्यूनतम मापदण्डबारे बोल्दै इस्लामले खेल मैदान, त्यहाँका पीच, आउटफिल्ड, डे«सिङ् रुम, तत्कालिक मौसम, ब्रोडकास्टर, मिडिया, होटल आदिको सुविधाबारे उल्लेख गरे ।

यता, पोखरा स्टेडियममा भने उल्लेखित कुनैपनि सुविधा छैन । यहाँको मौसम र प्रकृति अनुकुल रहेपनि विश्वकपका खेलाडी र अफिसियललाई चाहिने ठूला पाँच तारे होटल छैनन् । अध्यक्ष चन्दका अनुसार होटललाई धेरथोर व्यवस्थापन गर्न सकिएपनि हालको समस्या भनेको मैदानको पूर्वाधार नै हो ।

‘काठमाण्डौं बाहिर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्न निरन्तर लबिङ् गरिरहेका छौं, आश मरिसकेको छैन’ अध्यक्ष चन्दले सुनाए ।

हाल पोखरामा रहेका आइसीसी प्रतिनिधिले पोखरा र नेपाली क्रिकेटबारे जे–जस्तो रिपोर्ट बनाउनेछन्, सोही अनुसार साथ, सहयोग पाइने क्रिकेटका जानकार बताउँछन् ।

Scroll to Top