आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने

-


     नयाँ लिपि    
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले आइटी पढ्ने विद्यार्थीका लागि ईन्टरनेट नि:शुल्क गर्ने भएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेटको सुविधा उपलब्ध गराएको हो ।

ईन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज हुनुका साथै अविभावकलाई आर्थिक भार समेत कम भएकोमा विद्दार्थीहरु दंग भएको एक विद्दार्थी प्रज्वल बास्तोलाले बताए ।

अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई निःशुल्क ईन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने ।

ईन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । निःशुल्क ईन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन ।

देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं, वडाध्यक्ष बास्तोलाले भने ।

वडाले नीति तथा कार्यक्रममै भौतिक पुर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।