गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

- एयर एम्बुलेन्स व्यवस्थापनदेखि तीन जिल्लामा ट्रमा सेन्टर स्थापनासम्म योजना

-


     नयाँ लिपि    
     असाेज १५ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित त्रयकालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् ।

छ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई समेटिएको छ ।

दीर्घकालीन योजना अन्तर्गत एयर एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने, प्रदेशका मुटु, क्यान्सर र मृगौला रोगको उपचारको लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए ।

पाठकले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने, लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्मार्ण गर्ने, धौलागिरि अस्पताल बागलुङ, दमौली अस्पताल तनहुँ र मध्यविन्दु अस्पताल नवलपरासीमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीहरुलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाउने योजनालाई मध्यकालीन योजनामा राखेका छन् ।

उनले ६ महिना सम्पन्न गर्ने गरी विभिन्न शीर्षकमा ४० वटा योजनालाई समेटेका छन् भने २ वर्षमा पूरा गर्ने गरी ४९ वटा योजनालाई मध्यकालीनमा समेटेका छन् ।

करिब ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएका दीर्घकालीन योजना १० वटा रहेको पाठकले बताए । पत्रकार सम्मेलनमा पाठकले आफूले बनाएको तीन कालीन योजना अन्य प्रदेशका स्वास्थ्य मन्त्रालयको लागि मार्गदर्शन हुने दाबी समेत गरे ।

‘स्वास्थ्य क्षेत्रका समस्या भुईस्तरबाट नै समाधान गर्ने उद्देश्य हो ।’ – उनले भने – ‘उद्देश्य प्राप्तिका लागि तीन कालीन योजना बनाउँदा लक्ष्यमा पुगिन्छ भन्ने विश्वास छ ।’

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, महानिर्देशक खिमबहादुर खड्का र डा. रेखा पौडेलले मन्त्रालयको बारेमा बोलेका थिए ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सार्वजनिक गरेको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको सूची यस्तो छ । पिडिएफ फाइल अट्याच छ ।