नेपाल भूपू खेलाडी मञ्चको अध्यक्षमा : गुरुङ

-


     नयाँ लिपि    
     असाेज १२ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । 

मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । 

त्यसै गरी कार्यसमिति सदस्यमा दिनेश कुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओम बहादुर गुरुङ, भरत कुमार आले, याम बहादुर गुरुङ, इन्द्रा मल्ल, राम बहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिं, पुरन कुंवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बाला कुमारी गुरुङ, श्याम बहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहेका छन् । 

यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्न्वय समितिका प्रमुख लिलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने कुरा औंल्याए । खेलकुद क्षेत्रलाई पर्यटन प्रवर्द्धन संगै यूवा खेलाडी उत्पादन गरी राष्ट्रिय गौरव बढाउने विषयमा समेत सबैको ध्यान जानुपर्ने कुरा औंल्याए । 

प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा,पुर्व अन्तराष्ट्रीय खेलाडी एव बहादुर भट्टराई,रोटरी क्लव ३२९२ का गर्भनर इलेक्ट बिनोद कोइराला,ब्रिटिश कलेज पोखराका शाखा प्रमुख विमल कोइराला लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र यूवा एथ्लेटिक्स खेलाडी बादल कार्कीलाई सम्मान गरेको थियो ।

सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । 

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

यसै गरी मञ्चको नेतृत्वमा सम्पन्न भएको पोखरा रंगशालास्थित पर्खाल जिर्ण हुँदै गएकोले सो को संरक्षणका लागि विशेष कार्यक्रम अघि सार्ने जनाएको छ भने मासिक दौड कार्यक्रम तथा संस्थाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ । 

मञ्चका कोषाध्यक्ष पौडेलले  १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि करिव ८३ लाख ६७ हजार खर्च हुने जनाएका छन् ।

आगामी फागुन ३ गते पोखरामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पुरस्कार राशीमा वृद्धि गरिएको र खेलाडी दर्ता अभियान समेत सुरु गरिएको मञ्चले जनाएको छ ।