पोखरामा प्रदेश स्तरीय योग ध्यान स्वजागरण कार्यक्रम 

-


     नयाँ लिपि    
     असाेज १२ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । 

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । 

कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले योगले सबैमा प्रेम भाव जगाई मानवियताको विकास गर्दै सकारात्मक भावना ल्याउन र तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । योग ध्यान र जीवन विज्ञानको महत्व जनजनलाई बुझाउन सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले चालु आवदेखि स्थानीय तहसँगको साझेदारीमा सबै स्थानीय तहमा योगध्यानका कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरेको मन्त्री थापाले जानकारी दिए । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीलाई सकारात्मक दिशामा लैजान योगको कार्यक्रमलाई निरन्तरता दिने बताए । समाजलाई नकारात्मकताको बाटो भन्दा पनि सकारात्मकता बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको पाण्डेले औंल्याए । प्रदेशको नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको विषय भएकाले ८५ वटै पालिकालाई योग ध्यानको कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशनसमेत दिए । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, सभामुख, उपसभामुख, मन्त्री, सांसदसहित ८५ वटै पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक लगायत ५ सय भन्दा बढी सहभागी भएका थिए । 
कार्यक्रमलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले स्वागत गरेका थिए भने मन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।