नदीको सतह बढेसँगै  ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

-


     नयाँ लिपि    
     असाेज १२ गते २०८१ मा प्रकाशित


चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ ।

वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।  

शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना संकलन तथा उद्धार सेल गठन गरिएको छ ।

अविरल वर्षाको कारण महानगरपालिकाको  नारायणी र राप्ती नदीका तटीय वडाहरु (वडा नं. १,३,१३,१६,१७,२६,२७,२८ र २९) मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायको सकुशल उद्धार गरिएको जनाएको छ ।

वर्षाले मानव वस्तीमा क्षति पुग्नसक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिकरूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ ।