प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

-


     नयाँ लिपि    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

 
भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको हो ।  

भट्टले भन्नुभएको छ – ‘परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ  । यस्ता पर्वले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएका छन्।’

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक रहेकोमा उहाँको जोड छ । सरल र सदाचार जीवन शैली अपनाउनका लागि खर्चिलो तथा भड्किलोपन बन्देज गरी यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

 
हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा लैंगिक तथा जातीय विभेद  लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि उहाँले व्यक्त गर्नुभएको छ ।