फेवातालमा डुबेर एक बालकको ज्यान गयो

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको फेवातालमा डुवेको अवस्थामा एक बालकको शब फेला परेको छ ।

मृत भेटिएको बालक पर्वत जिल्ला फलेबास नगरपालिका २ थापाठाना पतेहार घर भइ हाल पोखरा ७ अन्नपूर्ण टोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री भएको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार फेवातालमा डुबेरको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त रेस्क्यु टोली उद्धारमा खटिएकोमा दिउँसो ४ बजेर ३० मिनेटमा डुबेको अवस्थामा फेला पारेको थियो ।

बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी कोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । घरपरिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए ।

साथीहरुसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि उनलाई प्रहरीले खोजी कार्य गरेको थियो ।

डुवेको अवस्थामा फेला परेका प्रस्तावलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।