पोखरामा यु–२० बुद्धिचाल प्रतियोगिता हुने

-


     नयाँ लिपि    
     श्रावण ३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजना हुन लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रामबहादुर क्षेत्रीले बताए ।

प्रतियोगिता स्विस लिगको आधारमा हुने आयोजकले जनाएको छ । स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार आयोजना हुने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता रहेको छ । ‘यो स्विस लिगको आधारमा खेलाइने रेपिड रेटिङ टुर्नामेन्ट हो । प्रतियोगिताको उत्कृष्ट ३ जनालाई हामी विशेष प्रशिक्षणको व्यवस्था समेत गर्नेछौं । जसले १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी छनौटमा समेत टेवा पुग्नेछ ।’ क्षेत्रीले भने । यो प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वारियतामा समेत रहनेछ । अर्थात खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वारियता) मा समावेश हुनेछ ।

प्रतियोगितामा यु–१० (९२५), यु–१६ (९२५), यु–१९ (९४५) जना र खुल्ला प्रतियोगिता ९१३ जना सहभागि रहने आयोजकले जनाएको छ । खुल्लातर्फको विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेले समान पाँच–पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार रहेको छ । यस्तै यु–१०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए । उनका अनुसार ९ चरणको खेलमा जसले सबैभन्दा बढी अंक ल्यायो उही प्रथम हुनेछ ।

पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ । प्रतियोगितामा राधाकृष्ण कार्भिङ र अनमोल दुग्ध उद्योगले सहयोग गरेको छ । दुई दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सि बेन्क्युटमा हुनेछ ।