Skip to content
Home » नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । 

आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो । 

भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गर्नुभयो । 

‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवर्द्धन  र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले  भन्नुभयो – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्‍याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’ 

आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ । 

आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।   

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गर्नुभएको थियो ।  

यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गर्नुभयो 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version