साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

- बालगौरव पुरस्कार अधिकारीलाई

-


     नयाँ लिपि    
     असार २६ गते २०८१ मा प्रकाशित


पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।
२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् ।

प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ ।

समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५ हजार रुपैयाँको अक्षयकोषबाट आर्जित रकमबाट प्रतिभालाई पुरस्कृत गरिँदै आएको संस्थाका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।
अक्षयकोषका संरक्षक मदनबहादुर खत्री क्षत्रीले समयको कालक्रम अनुसार पुरस्कारको राशि सानो भए तापनि कोषको आकार वृद्धि हुँदै जाँदा राशि पनि वृद्धि हुने बताए ।

यसैगरी, संस्थाद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा–२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने संस्थाले जनाएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा–९ मा अध्ययनरत छात्रा खेलकुदतर्फ एथलेटिक्स विधामा क्रियाशील छन् । अधिकारी यस अघि विभिन्न पुरस्कार हात पार्न सफल भएकी छन् ।

प्रतिष्ठानले २०६८ सालदेखि एकलाख रुपैयाँको शुल्ला साहित्य बाल गौरव सम्मान कोष स्थापना गरी बालविकास, बालसाहित्य, बालोत्थान तथा तीक्ष्ण प्रतिभाशाली बालबालिकाको प्रोत्साहनमा प्रत्येक दुई–दुई वर्षमा पुरस्कार अर्पण गर्दै आएको छ ।

प्रतिष्ठानले २११ औं भानु जयन्तीको अवसरमा बृहत् कार्यक्रम आयोजना गरी यही असार २९ गते दुवै प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

सोही समारोहबीच साहित्यकार डा गेहेन्द्रमान उदासको तीन पूर्णाङ्कीय बालनाटक र रविन्द्र माकाजूको पोखरामा बाघजात्रा पुस्तक लोकार्पणसमेत गर्ने प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले जानकारी दिए ।