पहिरोले कतै मानिसको मृत्यु कतै घरै बगायो

-


     नयाँ लिपि    
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरा । शुक्रबार देखि परेको अविरल वर्षाको कारण गण्डकी प्रदेशको विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

शुक्रबार देखि परेको वर्षाको कारण स्याङ्जा जिल्लाको फेदीखोला गाऊँपालिका – ५ बाँगे स्थित दुर्गा जि.टी.को ढुङगा माटो र टिनले छाएको १ तले घर पूर्णरुपमा क्षति पुगेको छ । उनको घर र गोठ करिब २०/२५ मिटर माथिबाट आएको पहिरोमा परि क्षति भएको प्रहरीले जनाएको छ ।

शनिबार २ः३० बजे उद्धारको लागि घटना स्थलमा पुग्दा अन्दाजी ३१ वर्षको दुर्गा जि.टी र उनकी ३ वर्षिया छोरी निसिका जि.टी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । मृतक जि.टीका ८ वर्षका छोरो आफन्तको घरमा सुत्न गएको र उनको श्रीमान रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थलमा थप उद्धारको कार्य भई रहेको प्रहरी जनाएको छ ।

त्यस्तै बाग्लुङमा पनि पहिरोका कारण २ जनाको मृत्यु प्रहरीले जनाएको छ । बागलुङ गल्कोट नगरपालिका– ८ बिसौनाका ५५ वर्षका प्रेम बि.क. र उनको ५० वर्षका श्रीमति बसन्ती बिकको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको गोठमा रहेको एक भैसी र ३ बाख्रा पनि पुरिएर मरेको बताईएको छ । पहिरोका कारण मृतक विक का बुहारी कुमारी र नाति शिशिर घाइते भएको गण्डकी प्रदेश प्रहरी जनाएको छ ।

आज नै वर्षाको कारण बाग्लुङ जैमिनी नगरपालिका– ५ खोलाको छेउमा रहेको ४२ बर्षिय मञ्जु श्रेष्ठको बाँसले बारेको टिनले छाएको किराना पसल बगाएको छ । उनीहरुको उक्त पसलमा रहेको ३० हजार बराबरको सामाग्री र डेढ तोलाको सुनको गरगहना बगाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।