पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

-


     नयाँ लिपि    
     असार २४ गते २०८१ मा प्रकाशित


तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ ।

पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।

सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार पश्चात चार जना हिजो नै घर फर्किएको छ ।एक जनाको सोही अस्पतालमा थप उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्गको शेरामा सडक अवरुद्ध

अविरल परेको वर्षातको कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर सडक अवरुद्ध भएको छ । खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको भए पनि फेरि पानीले बगाएर उक्त स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए ।