आर्चरीमा कास्की च्याम्पियन

-


     नयाँ लिपि    
     असार ९ गते २०८१ मा प्रकाशित


पोखरा । तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ ।

पोखरामा आज(शनिबार) सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ ।

पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सिमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश पुनले बागलुङका दुर्गा घर्तीलाई ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी काश्य पदक जिेतका छन् ।

यस्तै रिकर्व उमेन्स सिंगल्समा कास्कीकी रोजिना थापा मगरले स्वर्ण पदक जितेकी छन् । उनले फाइनलमा ६–० ले कास्कीकै केशरी आले मगरलाई पराजित गरेकी हुन् भने अनुस्का शेरचनले काश्य पदक जितेकी छन् । उनले तेस्रो स्थानको खेलमा कास्कीकी कृषा गुरुङलाई ७–१ अंकले पाखा लगाएकी थिइन । यस अघि भएको सेमीफाइनलमा अनुस्काले केशरी संग ५–५ ले बराबरी खेले पछि खेल टाइ भएको थियो । जसमा केशरीले १ अंकले बाजी मार्दै फाइनलमा पुगेकी थिइन् ।

यसै गरी स्टाण्डर्ड मेन्स सिंगल्समा कास्कीका होम फगामीले फाइनलमा बागलुङका प्रजित घर्ती मगरलाई ६–० ले पराजित गरी स्वर्ण पदक जिते भने कास्कीका गणेश तिलिजाले म्याग्दीका सुमन पाइजालाई ६–४ ले हराउँदै काश्य पदक जिते ।

प्रतियोगितामा मेन्स रिकर्व सिंगल्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु ३० हजार, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सोही इभेन्टतर्फ उमेन्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै स्टाण्डर्ड मेन्स सिंगल्सतर्फका विजेताले स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जानकारी दिए ।