अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।

-


     नयाँ लिपि    
     मंसिर २१ गते २०७९ मा प्रकाशित


सातौं पर्वतीय महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार गरिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालयले प्रतियोगिता आयोजना गरेका हुन् ।

प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।
संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका अनुसार प्रतियोगिताको नतीजा महोत्सव उद्घाटनको दिन २४ गते सार्वजनिक गरिने छ । प्रतियोगितामा सहभागी भएका प्रथम, द्वितीय, तृतीय भएका विद्यार्थीलाई उद्घाटनको दिन प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिने छ ।

प्रतियोगितामा विद्यार्थीको लागि सान्त्वना पुरस्कार पनि राखिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा मनोज तामाङ, शान्तकुमार श्रेष्ठ र हरेराम जोजिजु छन् । प्रतियोगितामा पर्यटन परिषद्का सञ्जयकान्त सिग्देल पनि सहभागी थिए ।

डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउन थालेपछि पर्वतारोहण संघले हरेक वर्षदेखि पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव आयोजना गर्दै आएको छ । मंसिर २४ र २५ गते हुने ७ औं महोत्सवमा पर्वतीय वातारण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा जोड दिएको छ ।

‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउन लागिएको महोत्सवमा यसवर्ष पनि विभिन्न कार्यक्रम र प्रतियोगिता राखिएको छ । महोत्सवमा हिमाली क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राख्दै धनुषवाण (आर्चरी), छेलो लगायतका खेल लगाए महोत्सवमा सडक दौड प्रतियोगिता राखिएको छ।