विपक्षीको कुप्रचारबाट कोही पनि भ्रमित नहुनुहोला उमेदवार बराल।

-


     नयाँ लिपि    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादीबाट कास्की–३ गठबन्धनका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ ले लिएको ऋण चुक्ता गरी कालोसूचीबाट हटिसकेको पाइएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् ५० लाख रूपैयाँ लिएर उनी संलग्न गण्डकी सञ्चार सहकारी संस्थाले अहिलेसम्म नबुझाएको र बरालको नामसमेत कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको मागसहित कास्कीकोटका बोधराज रेग्मीले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

उजुरीबारे मिडियामा समाचार आएपछि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले आयोगलाई पत्राचार गरेको छ । पत्रमा मन्त्री बराल कर्जाको दायित्वबाट मुक्त भइसकेको उल्लेख छ । २०६९ चैत १२ मा लिएको कर्जा २०७९ जेठ ६ मा चुक्ता भइसकेको कोषले जनाएको छ ।

बराल संलग्न समूहले कर्जा बुझाइसकेपछि कोषले उनीहरूको नाममा रहेको रोक्का गरिएको जग्गा फुकुवाका लागि पनि मालपोत कास्कीलाई पत्राचार गरिसकेको पाइएको छ । मन्त्री बरालले आफूविरुद्ध विपक्षीले कुप्रचार गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विपक्षीको कुप्रचारबाट कोही पनि भ्रमित नहुनुहोला ।’