पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै राष्ट्रिय सम्पदाको  ज्ञापनपत्र

-


     नयाँ लिपि    
     असार २३ गते २०७९ मा प्रकाशित


राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ ।

नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखाउन आग्रह गरेको छ । सम्पदाका अध्यक्ष सुनील पाण्डेले भने, ‘अघिल्ला अध्यक्षले गरेको यो अपारदर्शी सम्झौता खारेज गरी पोखरा उपत्यकाका सार्वजनिक जमिन पहिचान, संरक्षण र सार्वजनिक हितका लागि उपयोगको सुनिश्चित गर्न हामी माग गर्दछौं ।’

नगर विकास समितिका निवर्तमान अध्यक्ष जिसीले कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तवरले पोखराका विभिन्न स्थानको ६८ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएका थिए । ‘कार्यकाल सकिनै लाग्दा नियमित निस्कन छाडेको पत्रिकामा सूचना छपाएर, सदस्य सचिवको सट्टा अध्यक्ष आफैंले हस्ताक्षर गरी हतारहतारमा सम्झौता हुनुले यसभित्र ठूलै चलखेल भएको पुष्टि हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’

ध्यानाकर्षण पत्र बुझ्दै महानगरका मेयर आचार्यले प्रक्रिया नपुगेको र शंकास्पद भएकाले पोखरा उपत्यका नगर विकास समितिको बैठक बसेर छानबिन गर्ने प्रक्रियाअगाडि बढाइएको जानकारी दिए । उनले छानबिनको रिपोर्ट आएपछि सत्य, तथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । नगर विकास अध्यक्षसमेत रहेका आचार्यले गलत भएको प्रमाणित भए कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने बताए ।