कास्कीका पत्रकार फिल्डमै फोटोग्राफी सिक्दै

-


     नयाँ लिपि    
     असार ८ गते २०७९ मा प्रकाशित


पत्रकारितामा फोटोको उचित र प्रभावकारी प्रयोग बढाउन र पत्रकारलाई यसबारे अत्यावश्यक सीप सिकाउन मंगलबारबाट तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीले कास्कीका पत्रकारका लागि सैद्धान्तिक ज्ञानसहित फिल्डमै लगेर फोटोग्राफी सिकाएको हो ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले तालिम सुरुआत गरे । उनले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताए । ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले फोटोको माध्यम समाजका घटनाक्रमलाई छर्लङ्ग बुझ्न सकिने उल्लेख गरे ।

मन्त्री थापाले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा मन्त्रालय सकारात्मक रहेको जनाए । उनले चालु आर्थिक वर्षमा पत्रकारका लागि विनियोजन गरिएको बजेट कार्यान्व्यन गर्न केही प्राविधिक समस्या देखिए पनि आगामी वर्ष त्यस्ता समस्या नहुने प्रतिवद्धता गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र सरिता तिमिल्सिना पगेनीले पत्रकारितामा फोटो प्रभावकारी माध्यम भएको बताए । पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द पौडेलले फोटो पत्रकारिता तालिम पोखराको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गरे ।
गण्डकीको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा तालिम भएको हो । तालिममा फोटो पत्रकार प्रदीपराज वन्त र राम गुरुङले सहजीकरण गरिरहेको कार्यक्रम संयोजक राधिका कँडेलले जानकारी दिइन् ।