‘यौन हिंसामा हदम्याद नराखौं’

-


     नयाँ लिपि    
     असार ३ गते २०७९ मा प्रकाशित


यौनजन्य हिंसा तथा जबर्जस्ती करणीसम्बन्धी अपराधमा हद म्यादको विद्यमान व्यवस्थाबारे पोखरामा छलफल भएको छ । प्रेरणा नेपालले आयोजना कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनका कारण यसलाई सम्बोधन गर्न नसकिएको कार्यक्रमका वक्ताहरुले बताए ।

कार्यक्रमका वक्ताहरुले हदम्यादका कारण धेरै महिला अन्यायमा परेको उल्लेख गर्दै त्यसलाई हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् । उनले वर्तमान समाजलाई अध्ययन गरी विभिन्न विज्ञ र सरोकारवाला निकायसँग छलफलपछि अबका दिनमा कुनै पनि हिंसापीडितले न्याय नपाएर भौतारिनुपर्ने अवस्था आउन नदिनका लागि कानुन संशोधन गर्नुपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेश सभा सदस्य तथा प्रेरणा नेपाल अध्यक्ष मिना गुरुङले संस्थाले महिला, युवा वा समाजमा नेतृत्व, व्यत्तित्व विकास र अभियानहरु सञ्चालन गर्ने बताइन् । उनले ऐन संशोधनका लागि सार्वजनिक रुपमा दबाब र कानुनी मार्ग दुवै एकसाथ अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संघीय सांसद विद्या भट्टराई, गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री नरदेवी पुन, सांसद सावित्री राना, प्रेरण नेपालकी सचिव संगिता पाण्डे, लक्ष्मी सुनार लगायतले यौनजन्य हिंसा तथा जबरजस्ती करणी लगायतका अपराधमा वर्तमान कानुनका कारण यसलाई सम्बोधन गर्न नसकेको भनाइ राखे ।

कार्यक्रममा सहभागी कानुनका विद्यार्थी र अन्यले महिलामा हदम्यादको विषयमा जानकारी नभएको जनाउँदै जागरणसमेत जरुरी भएको विचार राखे । उनीहरुले समतामूलक समाज बनाउन र घरबाट नै हिंसा रोक्न पहल थालिनुपर्ने उनीहरुको भनाइ छ ।