एउटा जंगलमा खरायोले आरामका साथ आफ्नो दैनिकी कटाइरहेको थियो। उसका धेरै पुस्ताले सोही जंगलमा जीवन बिताएका थिए। खरायोको घर नजिकै पानीको सुन्दर पोखरी थियो। जंगलको वातावरण पनि स्वच्छ थियो। त्यहाँ कुनै डर, त्रास थिएन। तर एक दिन सोही बाटो हुँदै जंगलको राजा सिंह त्यहाँ आइपुग्यो। वरपर भेटेका साना जंगली जनावरलाई दुःख दिन थाल्यो र मार्दै खान थाल्यो। यो सबै दृश्य त्यो खरायोले पनि देखिरहेको थियो। स्वच्छ वातावरण भएकाले सोही स्थानमा बस्ने सिंहले पनि निर्णय गर्यो।
सिंह आफ्नो घर भएको क्षेत्रमा बसेकाले खरायोको मनमा चिन्ता थपियो। कुनै दिन सिंहको आहारा भइन्छ कि भन्ने चिन्ता खरायोलाई सधैं थियो। डरले नै खरायो घरबाट बाहिर निस्किएको थिएन। एक दिन अत्यधिक गर्मी भयो। घरभित्र डराएर बसेको खरायोलाई अत्यधिक तिर्खा लाग्यो। ऊ दौडदै नजिकैको पानीपोखरीमा गयो र पानी खान मात्रै के लागेको थियो, सिंहले आक्रमण गर्न लागेको चाल पायो। उसको प्यास हरायो र ऊ सिंहबाट जोगिन दौडन थाल्यो। सिंहले खरायोलाई घण्टौंसम्म खेदायो तर, भेटाएन।
खरायो भागेर एउटा पहाडको टुप्पोमा पुग्यो। फर्किएर हेर्दा केही तल सिंह भने थाकेर लखतरान भएको उसले देख्यो। सिंहले हार मानेर खरायोलाई भन्यो, ‘खरायो भाइ हुन त म तिमीभन्दा धेरै गुणा ठूलो र बलियो पनि छु, तर मैले तिमीलाई दौडमा जितेर समाउन सकिनँ, यसको रहस्य के हो ? मलाई नढाँटी भन्यौ भने त्यसपछि म तिमीलाई कहिल्यै दुःख दिने छैन।’ खरायोले जवाफ दियो, ‘सिंह महाराज तपार्इं एक छाक खानलाई दौड्नु भएको थियो। तर म एउटा जिन्दगी बचाउनलाई दौडिरहेको थिएँ। फरक यत्ति हो। छाक टार्न दौडनु र ज्यान बचाउन दौडनुको गति नै फरक हुन्छ नि।’
नैतिक शिक्षा : मान्छेको वर्तमान समयको रफ्तार उसको जीवनको अन्तिम लक्ष्यमा निर्भर रहन्छ। न कि अरू कुनै धन, सम्पत्ति, गाउँ, सहर, देश, समय, परिस्थिति सबै कुरा बहाना मात्रै हुन्। हामी जीवन बिताउन मात्रै दौडिएका हौं। त्यसैले यथार्थलाई नभुलौं। आनन्दको जीवन बिताऔं।