नयाँलिपिः १२ वर्षदेखि पोखराको हेमजाले आफुलाई व्यावसायिकरुपमा चिनाउन सफल आलु महोत्सव आजदेखि सुरु भएको छ ।
महोत्सवको १३ औं संस्करणको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटनकाक्रममा मेयर आचार्यले हेमजामा उत्पादित आलु स्वाद र गुणस्तरको हिसाबले विशिष्ट पहिचान रहेको बताए । हेमजाजस्तै अन्य वडाले पनि आफ्नो क्षेत्रमा सम्भावना भएका उत्पादनमा जोड दिनुपर्ने बताए ।
महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्दै उनले कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको औल्याए । मेयर आचार्यले आलु महोत्सवलाई महानगरले अपनत्व लिइरहेको बताउँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
महोत्सव प्रवेशका लागि साधारणतर्फ रु. ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको छ ।
त्यस्तै रु. २०० मा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोवस्त समेत मिलाइएको र महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोवार हुने मूल आयोजक समितिका महासचिव हिम्मत थापाले जानकारी दिए ।
महोत्सव यहि वैशाख ३ गतेसम्म चल्नेछ ।