नयाँलिपिः पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियुको सभापति भइसकेका धनराज आचार्यले हाल रोकिएको स्ववियु निर्वाचन चैत १० गते सम्पन्न गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।
अनेरास्ववियुबाट सभापति निर्वाचित भई हाल पोखरा महानगरपालिकाका मेयर रहेका आचार्यले १६ वर्षपछि हुन लागेको निर्वाचनलाई ‘हाम्रो जिम्मेवारी, हाम्रो भविष्य’ भनेका छन् ।
चैत ५ गते सम्पन्न हुनुपर्ने निर्वाचन रोकिएकोप्रति उनै पूर्वसभापति एवं वर्तमान मेयर आचार्यको भनाईः
पोखरा ,पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि विद्यार्थी निर्वाचन – हाम्रो जिम्मेवारी, हाम्रो भविष्य
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र बिध्यार्थि युनियनको पूर्व सभापति भएको नाताले, सम्पूर्ण विद्यार्थी, प्राध्यापक । क्याम्पस प्रसासन तथा सरोकारवालाहरूसँग आग्रह गर्न चाहन्छु कि १६ वर्षपछि हुन लागेको ऐतिहासिक निर्वाचन सफल बनाउन सबैले आफ्नो भूमिका निभाऔँ।
गत १६ वर्षसम्म हाम्रो क्याम्पसमा निर्वाचन नहुनुका प्रमुख कारणहरूमध्ये हाम्रा आफ्नै कमजोरी नै मुखयरुपमा थिए। जब देशभरका क्याम्पसहरूमा निर्वाचन भइरहेका थिए, हाम्रो क्याम्पसमा किन रोकियो? यसबाट पाठ सिक्दै, अब कुनै बहानाबाजी नगरी लोकतान्त्रिक अभ्यासलाई सशक्त रूपमा अघि बढाउन आवश्यक छ।
विद्यार्थी संगठनहरू जिम्मेवार बनौँ!
पूरै दुई पुस्ताले विश्वविद्यालय जीवनमा निर्वाचन के हो भन्ने कुरा बुझ्न पाएका छैनन्। यसको प्रमुख कारण हामी स्वयं (विद्यार्थी सँङ्गठन) हौँ। त्यसैले अब हामी सबै सचेत र जिम्मेवार बन्नुपर्छ। तोकिएको समयमा निर्वाचन भएन भने बिगतमा जस्तै बिश्वबिद्धालय ले पोखराका लागि मात्रै निर्वाचन गर्ने छैन।
विद्यार्थी राजनीति विद्यार्थीका लागि मात्रै गरौँ!
राजनीतिक पार्टीहरू बाहिरको राजनीति का लागि पर्याप्त छन्। क्याम्पसभित्रको विद्यार्थी राजनीति विद्यार्थीहरूको हक, अधिकार, र शैक्षिक सुधारका लागि केन्द्रित हुनुपर्छ। संगठनहरू गुण र दोषका आधारमा प्रेशर ग्रुपको रूपमा काम गर्ने, तर संगठनात्मक रूपमा स्वतन्त्र रहने बिगतको परम्परालाई आत्मसात गर्नुपर्छ।
निर्वाचन हाम्रो अधिकार र कर्तव्य हो!
यदि यस पटक पनि तपाईंहरूको कुनै बहानाले निर्वाचन स्थगित भयो भने, भविष्यमा व्यक्तिगत रूपमा पनि पछुताउनु पर्नेछ। अहिलेको नेतृत्वमा रहेका विद्यार्थी नेताहरू जिम्मेवार बन्न आवश्यक छ।
निर्वाचन सफल बनाउन कुनै साथ सहयोग जरुरी भएकोमा पोखरा महानगरपालिका र स्थानीय प्रशासन पनि तपाईंहरूसँगै रहनेछ। त्यसैले सबै पक्ष मिलेर चैत्र १० गते तोकिएको मिति, स्थान, र समयमा निर्वाचन सम्पन्न गरौँ। लोकतान्त्रिक अभ्यासलाई बलियो पार्दै शैक्षिक एवम् प्राज्ञिक गतिविधिमा संलग्न होऔँ।
हाम्रो मत, हाम्रो भविष्य!
फाइल तस्बिर