पोखरामा कोइका र युएनडिपीको सहयोगमा बन्दैछ ‘कोसेली घर’

santan ads

नयाँलिपिः कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा पोखरामा काेसेली घर निर्माण हुने भएकाे छ ।

परियाेजना अन्तरगत सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको साेमबार शिलान्यास गरिएको छ ।

कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने उनकाे विश्वास छ ।

‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ, उनले भने ‘यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’

कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने बताए ।

नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गरे ।

परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् ।

१ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ ।

Scroll to Top