पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नीफुटबल क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेल मार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेपछि यो फाइनल भिडन्त पक्का भएको हो ।
गन्नीले डिफेन्डिङ च्याम्पियन एल सी ब्रदर्श युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्यो ।
बिहीबार भएको प्रतिस्पर्धात्मक खेलको २९ औँ मिनेटमा गन्नी फुटबल क्लबका विदेशी खेलाडी रिचार्ड अफेथाले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । उनी म्यान अफ दि म्याच घोषित भए ।
अब उपाधिको लागि शनिबार दिउँसो १ बजे सूर्य तारा र गन्नीले खेल्ने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।
सुर्य ताराले पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई२–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ। द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।