नयाँलिपिः आज अन्तर्राष्ट्रिय महिला दिवस । एक त सार्वजनिक बिदा, त्यसमाथि शनिबार ।
र, बिदामा पनि पोखरा महानगर क्षेत्रका ‘सामुदायिक महिला स्वास्थ्य स्वयंसेवी सञ्जाल’का सदस्यहरु क्यान्सर सचेतनासम्बन्धी तालिममा व्यस्त रहेका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्था, कास्की शाखाले पोखरामा स्तन क्यान्सरबारे सचेतना र तालिमको आयोजन गरेको छ ।
तालिमको उद्देश्य महिला स्वास्थ्य स्वयंसेवीलाई जानकारी र सचेतना दिई नगर क्षेत्रमा थप सञ्चार प्रवाह गर्ने रहेको संस्थाका कास्की सचिव रघुनाथ अधिकारी बताउँछन् ।
संस्थाले क्यान्सर रिलिफ सोसाइटीका सदस्य रविप्रसाद बराललाई निम्त्याएर यससम्बन्धी तालिम दिइरहेको छ । तालिममा महानगरका सबै वडाका स्वर्यसेवी महिला सहभागी छन् ।
तालिममा क्यान्सर, स्तन क्यान्सरका लक्षण, पहिचानका तरिका, परीक्षण र उपाचार विधिबारे स्वयंसेवीलाई सिकाइँदैछ ।
६० स्वयंसेवी सहभागी तालिममा संस्थाका उपसभापति नारायण पराजुली भन्छन् ‘यहाँ सहभागी स्वयंसेवीले क्यान्सरबारे सबै वडाका महिलालाई सचेतना र जानकारी दिन सक्नुहुनेछ ।’
महानगरका हरेक वडा स्वास्थ्य संस्था भएकाले स्वयंसेवीहरुलाई दिएको तालिममार्फत नगरवासीले नै क्यान्सरबारे जानकारी पाउने तालिमको उद्देश्य रहेको पराजुलीले बताए ।
विश्व स्वास्थ्य संगठनले यस वर्षको फेब्रुअरीलाई ‘क्यान्सर निवारण महिना’कारुपमा मनाइरहेको छ ।
नेपालमा सन् २०२२ मा नयाँ क्यान्सर रोगीको संख्या २२ हजार बढी भेटिएको र १४ हजार बढीको मृत्यु भएको तथ्यांक छ । सन् १९९० को तुलनामा हालको संख्या दोब्बर हो ।