धर्मको नाममा हुने अपराध रोक्नु मेरो धर्म होः वडाध्यक्ष थापा

santan ads

नयाँलिपिः पोखराको बाराहीघाटमा शुक्रबार मानवसेवा फाउण्डेशनले भुमि पूजनकाक्रममा भएको झडपमा वडा २६ का अध्यक्ष नरेन्द्र थापासमेत मुठभेडमा उत्रिएको दृश्य सार्वजनिक भएपछि उनी आलोचित भएका छन् ।

आलोचनापछि वडाध्यक्ष थापाले नगर प्रहरी, महिला प्रहरीमाथि निर्मम हमला भएपछि प्रतिरक्षामा उत्रिएको बताएका छन् ।

‘महानगरको आदेश पालन गर्ने क्रममा खटिएका नगरप्रहरी माथि आयोजकले भाडामा राखेका हतियारधारी समूहले आफ्नै आँखा अगाडी निर्घात कुटपिट गर्न थाल्नु र अझ महिला नगरप्रहरी माथि हातपात गरेपछि एक जनप्रतिनिधि हुनुको नाताले महानगरको कार्यपालिकाको निर्णय कार्यान्वयन र आफ्ना कर्मचारीको सुरक्षा एवं धर्मको नाउँमा भएको अपराध रोक्नु मेरो धर्म पनि हो’ थापाले भनेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामी हाम्रो हिन्दु धर्म रक्षा र संरक्षणका लागि अन्तिम श्वास रहेसम्म लड्न तयार छौं तर हतियारधारी जत्था तयार गरी अपराधिक शैलीमा गरिने यस्ता अराजकता र हिन्दु धर्मलाई बद्नाम गराउने कार्य सहन, टुलुटुलु हेर्न र हुन दिनेछैनौ ।’

थापाको स्पष्टीकरण एवं अपीलः
सुन्दर र शान्त पर्यटकीय क्षेत्र पोखरामा धर्मका नाउँमा मानव सेवा फाउण्डेशनलले शुक्रबार जुन धार्मिक अराजकता र ताण्डव मच्चायो त्यसमा मेरो गंभिर ध्यानाकर्षण भएको छ । वास्तविकता नवुझी उक्त घट्नामा मेरो नाम र पद जोडेर जुन भाष्य निर्माण गरिएको छ, त्यो आधारहिन छ ।

भक्तजनहरुको सहभागितामा पवित्र मानिएको कोटीहोम जस्तो धार्मिक कार्यको शुरुवात हुनुपर्नेमा रड, लाठी, खुकुरी र खुँडा सहितका हतियारधारी राखेर भूमिपूजन गर्नुले आयोजकले भिडन्तको पूर्वसंकेत दिएको अवस्था हो ।

महानगरको आदेश पालन गर्ने क्रममा खटिएका नगरप्रहरी माथि आयोजकले भाडामा राखेका हतियारधारी समूहले आफ्नै आँखा अगाडी निर्घात कुटपिट गर्न थाल्नु र अझ महिला नगरप्रहरी माथि हातपात गरेपछि एक जनप्रतिनिधि हुनुको नाताले महानगरको कार्यपालिकाको निर्णय कार्यान्वयन र आफ्ना कर्मचारीको सुरक्षा एवं धर्मको नाउँमा भएको अपराध रोक्नु मेरो धर्म पनि हो ।

हामी हिन्दु धर्मका अनुयायीहरु अधर्म र धार्मिक अपराध एवं ठगीमा विश्वास गर्दैनौ । मेरो वडामा धर्म, कला संस्कृतीको संरक्षणका लागि रकम विनियोजन गरेर जिर्णोदार, मर्मत संभार र पुर्ननिर्माण जस्ता कार्यलाई अगाडी बढाउनुको साथै पाटीपौवा, चौतारा, ताल तलैया र पोखरीको संरक्षण आज पनि हाम्रो प्राथमिकतामा छन् ।

हामी हाम्रो हिन्दु धर्म रक्षा र संरक्षणका लागि अन्तिम श्वास रहेसम्म लड्न तयार छौं तर हतियारधारी जत्था तयार गरी अपराधिक शैलीमा गरिने यस्ता अराजकता र हिन्दु धर्मलाई बद्नाम गराउने कार्य सहन, टुलुटुलु हेर्न र हुन दिनेछैनौ । फेवाताल जत्तिकै शान्त पोखरालाई धर्मको आधारमा विभाजित गर्ने दुस्प्रयास न आज न भोलि सह्य हुँदैन ।

धर्मको नाउँमा वर, पिपल र समीका रुख काट्ने परम्परा न हाम्रो धर्ममा हिजो थियो न आज । त्यसको विरोध हामीले यसअघि नै गरेका थियौ । सहमतिका आधारमा कोटीहोमलाई स्थानान्तरण गर्न सकिने बिषयलाई आयोजकले गंभिरतापूर्वक नलिई कमाउने खेलोमा लाग्दा यि घट्नाको शुत्रपात भएको भन्ने लाग्दछ ।

धार्मिक कार्यमा रणमैदान बनाउने र शान्त पोखराको वातावरण बिगार्नेका विरुद्ध एक जुट हुन सम्पूर्ण पोखराबासी एवं हिन्दु धर्ममा आस्था राख्ने महानुभावमा सादर अपिल गर्दछु । यस अगाडी जेजस्तो परिस्थिति सिर्जना भएपनि अवका दिनमा स्थानीय प्रशासनले यस घट्नालाई गंभिरता पूर्वक लिई सामान्यकरण गराउने वातावरण मिलाउन आग्रह गर्दछु । यि घट्नाका बिषयमा सामाजिक सञ्जाल, मिडिया वा विभिन्न माध्यमबाट जे जस्ता प्रतिक्रिया आए पनि धार्मिक व्यक्तित्वहरुलाई पर्न गएको असुविधा प्रति दुःख व्यक्त गर्न चाहान्छु ।

मनुस्मृतिमा लेखिएको छ, स्वाध्यायनित्यमध्यानं तपः शौचं दमः शमः। अहिंसा सत्यवचनं ब्राह्मणस्यैव धर्मतः॥
यसको अर्थ : ब्राह्मणले नित्य रूपमा वेदाध्ययन गर्नुपर्छ, तपस्या, शुद्धता, इन्द्रिय संयम, अहिंसा, र सत्य बोल्नुपर्ने धर्म हुन्छ। यी श्लोक अनुसार, ब्राह्मण केवल जन्मको आधारमा होइन, आफ्नो गुण, आचरण र कर्म अनुसार नै योग्य ठहरिन्छ ।
धर्मो रक्षति रक्षितः

साथै आज मार्च ८ गते अन्तराष्ट्रिय नारी दिवशको समस्त नारीहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै धर्म रक्षाका लागि माता दुर्गा भवानीका स्वरुपमा अगाडी बढ्न समेत अनुरोध गर्दछु ।

नरेन्द्र थापा नरेन
कार्यपालिका सदस्य
एवं वडा अध्यक्ष पोखरा २६

Scroll to Top