नयाँलिपिः मानवसेवा फाउण्डेशनले शुक्रबार ११ बजेको समयमा पोखराको बाराहीघाटमा कोटीहोम महायज्ञ अयोजना गर्न भूमिपुजन गर्ने क्रममा आयोजक र प्रहरीबीच मुठभेड भएको छ ।
कोटीहोम महायज्ञ आयोजना गर्न अनुमति नदिइएको भन्दै पोखरा महानगरपालिकाले भूमिपूजन रोक्न नगर प्रहरी खटाएको थियो । प्रहरीको उपस्थितिबीच भूमि पूजन गर्न आयोजक कस्सिएपछि दुबैबीच भीडन्त सुरु भएको हो ।
नगर प्रहरीले बल प्रयोग गरेर पूजन कार्य बिथोल्ने खोजेको भन्दै फाउण्डेशनका सदस्यलगायत अन्य प्रहरीमाथि जाइलागेपछि महायज्ञस्तल एकाएक रणमैदान बनेको थियो ।
भीडन्तमा दुबै पक्ष घाइते भएका छन् । त्यसक्रममा प्रहरीमाथि आयोजकले रड प्रहार गरेका थिए भने प्रहरी पनि निर्ममताकासाथ उत्रिएका थिए ।
दुबै पक्षका दर्जन हाराहारीमा घाइते भएको र केहीको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल ट्रस्टको मातहतमा रहेको उक्त स्थानमा कोटीहोम गर्न फाउण्डेशले जग्गा भाडामा लिइसकेको छ भने उच्च अदालतबाट पनि आदेश पाइसकेको छ । तर पोखरा महानगर भने विविध कारण देखाउँदै लेकसाइडमा महायज्ञ हुन नदिने प्रयासमा छ ।
कुनैपनि हालतमा महायज्ञ गर्न उद्दत फाउण्डेशन र कुनै पनि हालतमा महायज्ञ हुन नदिने अडानमा रहेको महानगरबीच प्रत्यक्ष मुठभेड आजदेखि सुरु भएको छ ।
हाल बाराहीघाट क्षेत्र खाली गराइएको छ भने त्यहाँ नेपाल प्रहरी तैनाथ गरिएको छ ।