मानवाधिकारचोकबाट व्यवस्था विरोधी अभिव्यक्ति, दलका नेतालाई ‘अपराधी’ र ‘अधर्मी’को संज्ञा

santan ads

नयाँलिपिः पूर्वरानी कोमल शाहको ७५ औं जन्मोत्सवको अवसरमा नेपाल प्राज्ञिक मञ्चले पोखरामा विद्वत्सभाको आयोजना गरेको छ ।

पोखराको मानवाधिकारचोकमा आयोजित सभामा विद्वान् भनिएका वक्ताहरुले तुच्छ शैलीमा व्यवस्था र दलका शीर्ष नेताहरुलाई गाली गर्दै पूर्वराजाहरुको गुणगानमा समय खर्चिएका थिए ।

सभामा वरिष्ठ अधिवक्ता एवं कानूनवीद् भनि चिनाइएको बालकृष्ण न्यौपानेले गणतान्त्रिक व्यवस्थाका ठूला भनिएका राजनीतिक दलका नेताहरु अपराधी भएको बताए । उनले कांग्रेस, माओवादी, एमालेलाई अपराधी र हत्यारा भनेका हुन् ।

‘कांग्रेसले राजनीतिको सुरुवात नै प्लेन हाइज्याक र देशको पैसा लुटेर सुरु ग¥यो’ न्यौपानले भने ‘कांग्रेसले लुटेको हिसाबकिताब राज्यलाई बुझाएन ।’ त्यस्तै, माओवादीले मान्छे मारेर राजनीति सुरु गरेको भन्दै उनले त्यसपछि १७ हजार मारेर सत्तामा आएको बताए ।

एमालेको विगत पनि हत्या, हिंसाबाट सुरु भएको भन्दै उनले वर्तमानमा सबैभन्दा ठूलो लुटेरा भएको भनाई राखेका थिए ।

देशमा राजाको शासन सुरु हुन ढिला भइसकेको भन्दै उनले अब जगमान गुरुङ्को प्राज्ञिक मञ्चमा एकत्रित भई राजतन्त्र फर्काउन अपील गरे ।
‘हामी छरिएर कमजोर भएका छौं’ न्यौपानेले भनेका छन् ‘कमल थापा, राजेन्द्र लिङदेन, धर्मगुरुहरु सबैलाई प्राज्ञिक मञ्चमा जोडिन आग्रह गर्छु ।’ मञ्चले मात्रै राजालाई सत्तामा फर्काउन सक्ने उनको भनाई छ ।

उनले प्रष्ट भनेका छन् ‘संसदीय व्यवस्था खारेज गरौं ।’

अर्का वक्ता पूर्व जलस्रोतमन्त्री दिपक ज्ञवालीले राजाले बनाइदिएको सडक र संरचनामा छोटे राजाहरुको मस्ती रहेको बताउँदै त्यसलाई ‘मर्ने बेला कमिलाको प्वाख’ भनि टिप्पणी गरे ।

गणतन्त्रमा देश टाट पल्टिएको उनको भनाई छ । ‘प्रतिव्यक्ति ८५ हजार रिनको उपहार दिने व्यवस्था र नेताको रवैयाबाट देश बच्न सक्दैन’ उनले भने ।

ज्ञवालीले देशको सार्वभौमसत्ता खतरामा रहेको उल्लेख गर्दै लुटेराहरुले अब देशै बेच्न लागेको बताए ।

सभाका अध्यक्ष एवं मञ्चका संयोजक डा. जगमान गुरुङले भने सभामा पातलो उपस्थितितर्फ असन्तुष्टी पोखे ।

‘यहाँ अधर्मी, पापी, अपराधी नेताहरुको भेला भएको भए खुट्टा टेक्ने ठाउँ हुँदैनथियो’ गुरुङले भने ‘सुरक्षा दिन हम्मे हुन्थ्यो, कुल्चिएर मान्छे मर्थे ।’

उनले राजसंस्थाको माध्यमबाट नेपालमा शान्ति र अमनचयन कायम हुनुपर्छ भन्नेहरुको सभा भएकाले मान्छे कम भएको भन्दै व्यंग्य गरे ।

‘छ बेला, लाग्छ घाम’ भन्दै पोखराबाट मञ्चले राजालाई नारायणहिटी फर्काउन आन्दोलन सुरु गरेको उद्घोष गरे ।

सभामा राप्रपा कास्कीका नेता, कार्यकर्ता, पूर्वराजाका शुभचिन्तक, पूर्वपञ्चलगायतको उपस्थिति थियो ।

Scroll to Top