नयाँलिपिः पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
स्थापनाको १३ औं बर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन संचालनमा ल्याइएको हो । करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शय्या रहेका छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो ।
पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवाहरु रहेका छन् ।
अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६ शय्याको सघन उपचार कक्ष (आईसियु) समेत संचालनमा ल्याएको अस्पतालका निर्देशक प्राडा ईश्वरप्रसाद कँडेलले जानकारी दिनुभयो ।
सो अस्पतालको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिनुभयो । उहाँले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने बताउनुभयो ।