दिपक के श्रेष्ठः मधेश प्रदेशको एक टोली यतिबेला पोखरामा रहेको छ । पोखरामा जारी औद्योगिक एवं आइटी मेलामा स्टल राखेर मधेश प्रदेशको टोलीले आफ्नो भूगोलको प्रचार र प्रवद्र्धन गरिरहेको छ ।
‘घुमौ मधेशः बुझौं मधेश’ भन्ने नारासहित मधेशको टोली विकासकुमार ठाकुरको नेतृत्वमा व्यापारिक मेलामा अवलोकनकर्तालाई मधेश चिनाउँदै घुम्न आउने निम्तो बाँडिरहेको छ ।
मधेश घुम्ने र बुझ्ने यस अभियानलाई मधेश प्रदेशको साथ रहेको संयोजक विकास ठाकुर बताउँछन् । टोलीले महोत्सवमा कार्यक्रमसमेत गरेको छ । जहाँ गण्डकी प्रदेशका पर्यटनमन्त्री सहभागी थिए ।
पोखराका पर्यटन व्यवसायीले पोखरा घुम्न निम्तो दिँदै देश र विदेश पुगेको स्मरण गर्दै उनले मधेश पनि आफ्नो प्रचार गर्न र घुम्न आउन निम्तो बाँड्न पोखरा आएको संयोजक ठाकुरले बताए ।
‘हाम्रो उद्देश्य तराई–मधेशबारे बुझाउनु हो, चिनाउनु हो’ ठाकुर भन्छन् ‘सबैलाई निम्तो छ हाम्रो सम्पदा, इतिहास र संस्कृति चियाउन ।’ पोखरामा स्टल राख्दा अवलोनकर्ताले मधेशका विभिन्न सम्पदा र क्षेत्रबारे राखेको जिज्ञासाबाट ठाकुर पुलकित छन् ।
उनले भने ‘हामीले धेरै जानकारी र सूचना दिन सफल भयौं, पोखरामा नभएका पर्यटकीय आकर्षणका भिन्न ठाउँ मधेशमा छन्, जसरी मधेशमा नभेटिने प्राकृतिक छटा पोखरामा छन् ।’
उनले पोखरा आउनुको मुख्य उद्देश्य नै पर्यटकीय क्षेत्रको प्रचार गर्नु बताए । ‘हाम्रो देशमा भएको विविधता बुझ्न एक ठाउँमात्र घुमेर सम्भव छैन’ ठाकुरले भने ‘गण्डकीका मन्त्रीज्यूहरुले पनि हाम्रो स्टलको प्रशंसा गर्नुभएको छ ।’
मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले नै मधेशको प्रचार गर्ने उद्देश्यस्वरुप यस्तो अवधारणाको परिकल्पना गरेपछि पोखरा आएको उनको भनाई छ ।
‘मधेशमा बुद्ध, जानकी, मिथिला सभ्यता छ । कोशी टप्पुदेखि सलहेशका कथा छन्, नेपाल बुझ्न मधेश झर्नैपर्छ नि’ उनले भने ।
यहि १७ गतेसम्म महोत्सवमा स्टल राखेपछि आज एकदिन थप गरिएको उनले बताए । पोखरामा आएर मधेशको उद्देश्य सफल भएको उल्लेख गर्दै आजै साँझ मधेश फर्कने ठाकुरको टोलीको योजना रहेको छ ।
फर्कने तयारीबीच ठाकुरले भने ‘संस्कृति, सभ्यता, इतिहास र पर्यटनको आदानप्रदान गर्न मधेश अझै पहाड उक्लिरहनेछ । मधेशलाई पनि माया गर्नुहोस् है ।’