दिपक के श्रेष्ठः पोखराको सभागृहचोकदेखि विपिचोकसम्म लमतन्न तन्किएको फराकिलो सडक हो, न्यू रोड । नामजस्तै नयाँ र पोखराको वैभव देखाउने करिब २ किलोमिटरको सडकलाई स्थानीयवासी काठमाण्डौंको दरबार मार्गसँग पनि तुलना गर्छन् ।
वास्तवमै पोखरालाई वैभव, समृद्धि र शानदार देखाउने न्यू रोड ५० वर्ष पुगिसकेको छ । र ५० वर्ष पुरा गरेको उपलक्ष्यमा न्यू रोड युवा क्लबले धुमधामकासाथ ‘न्यू रोड’को जन्मदिन मनाएको छ । पोखरा महानगर प्रबन्धक रहेको जन्मदिन समारोहको चाँजोपाँजो क्लबले मिलाएको हो ।
क्लबका अध्यक्ष वंशज सिंह खवासले न्यू रोड पोखराकै मेरुदण्ड रहेको र समस्त न्यू .रोडवासीको भावनासँग जोडिएको भन्दै वडा कार्यालय, स्थानीयवासी र महानगरपालिकासँग मिलेर जन्मदिन मनाउने योजनाअनुरुप समारोह आयोजना गरेको बताए ।
‘हजुरबुवाहरुले आफ्नो उब्जाउ जमिन सडक बनाउन दिनुभयो’ अध्यक्ष खवास भन्छन् ‘आज न्यू रोड नामजस्तै देखिएको छ, पोखराको शान बनेको छ ।’ पोखरेलीमात्र हैन विभिन्न क्षेत्रबाट यहाँ बसोबास गर्न आउने र व्यवसायीहरुको थलो पनि बनेकोमा खवास गर्व गर्छन् ।
न्यू रोडले पोखरालाई देश विदेशमा चिनाएको भन्दै खवासले अझै पनि अन्तर्राष्ट्रिस्तरका सडक बनाउन प्रविधि र पूर्वाधारको आवश्यकता भएको भन्दै उनले आगामी दिनमा सम्बन्धित निकायबाट काम हुने अपेक्षा गरे ।
जन्मदिनको उत्सवलाई विशेष बनाउन क्लबले सबिन राईलगायत स्थानीय ब्यान्डलाई निम्त्याएको थियो । सडकमै मनाइएको जन्मदिनप्रति कतिपयले आलोचना गरेकोमा भने अध्यक्ष खवासले दुख व्यक्त गरे ।
‘हाम्रो उद्देश्य कसैलाई, कुनैपनि बाधा पार्ने होइन, थिएन’ उनले भने ‘पोखराकै कतिपय स्थानमा हप्ता दिन बढी सडक अवरोध गरेका छन्, तर हामी माथि धेरै कटाक्ष गरियो ।’ न्यूरोडले नै पोखरालाइ आधुनिकतातर्फ अघि बढाएको स्मरण गर्दै उनले न्यूरोडवासीको योगदानलाई सम्झिदिन आग्रह गरे ।
०७२ सालमा स्थापना भएको क्लबलाई अध्यक्षकारुपमा हाँकिरहेका खवासले सकेसम्म न्यू रोडको जन्मदिन वर्षेनी मनाउने बताए ।
०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले न्यूरोड र पोखराको वर्र्तमान खाका तयार पारेका थिए । राजा विरेन्द्रले पोखरा पठाएपछि पाठकले ‘पोखरा टाउन प्लानिङ् कमिटी’ गठन गरेका थिए । जसलाई योजनावीद् पदमबहादुर क्षेत्रीले साकार बनाए ।
जन्मदिन समारोहमा पोखराका मेयर धनराज आचार्यले सम्मानसाथ दुबै व्यक्तित्वका नाम लिएका थिए ।