पोउवाको औद्योगिक मेलामा पाइनेछन् सातै प्रदेशका उत्पादन

नयाँलिपिः पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि सुरु हुने ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सवलाई विशुद्ध रुपले प्रवद्र्धनात्मक हुने बताएका छन् ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको अन्तिम घडिमा आयोजित प्रेसमिटमा अध्यक्ष कार्कीले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवद्र्धन र नयाँ सम्भावनाका खोजीमात्र गरिने जानकारी दिए ।

‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ,’ उनले भने, ‘मेलामा सूचना प्रवधि,महिला उद्यमी र उद्योगहरुका उत्पादन प्रदर्शनी हुनेछ,’उनले भने, ‘मेला सिक्ने ठाउँ हो,मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रवद्र्धनात्मक कार्यक्रम बढी गर्नेछौँ ।’

मेला सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक र २७ वटा उपसमितिसहित कार्यसम्पादन समिति गठन गरिएको छ । समग्र नेपालका औद्योगिक, हस्तकला तथा खाद्य परिकारहरुको प्रदर्शनका निम्ति आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकीसहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको आयोजकले जनाएको छ ।

‘मेलामा गण्डकीसहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादनहरु प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेका छौँ,’ उनले भने, ‘सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउँदै हुनुहुन्छ । हाम्रो मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणी हुनेछ ।’

आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारीहरु पस्कने व्यवस्था मिलाइएको पनि उनले बताए ।

संघका महासचिव शोभा गौतमका अनुसार मेलामा कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल बितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा हुन लागेको मेलालाई सिर्जनशिलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ ।

मोवाइल बितरक संघ,गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपोअन्तर्गत मोवाइलहरुमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको सुविधा,,एसोसरिजहरुको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोवाइल डोर प्राइजको रुपमा वितरणको व्यवस्थासमेत गरिएको छ ।

मेला अवलोकनको लागि न्यूनतम् शुल्क अर्थात् प्रति टिकट ५० रुयैयाँको प्रवेश शुल्क तोकिएको छ । संघका साधारण सदस्य, जेष्ठ नागरिक,अपाङ्ग,पोशाकमा रहेका राष्ट्रृसेवक सुरक्षाकर्मी र विद्यार्थीको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले संघको आयोजनामा हुने मेलालाई हरतरहले सघाउने प्रतिबद्धता जनाएका छन् ।

 

 

Scroll to Top