नयाँलिपिः नेकपा (एस) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी नेकपा एमाले समर्थित पत्रकार संगठन प्रेस चौतारीमै फर्किएका छन् ।
सुवेदीसँगै विभिन्न जिल्लाका पत्रकारहरु टीमसहित चौतारीमा फर्किएका हुन् । एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेको प्रेस चौतारी नेपालले जनाएको छ ।
यस्तै, संस्थापक कर्णाली अध्यक्ष यज्ञराज थापा, संस्थापक लुम्बिनी अध्यक्ष शिवलाल सुवेदी, संस्थापक केन्द्रीय सदस्य सौगात मिश्रले पनि समाजवादी छाडेका छन् ।
जिल्लाहरूमा पनि एकसाथ चौतारी प्रवेश गरेका छन् । रूपन्देहीमा जिल्ला सचिव प्रतिक पौडेलको नेतृत्वमा, बारामा पत्रकार महासंघ अध्यक्ष रमेश सुवेदी नेतृत्वमा, सुनसरीमा अध्यक्ष प्रेम बास्तोला, कोशी प्रदेश सचिव भोला श्रेष्ठ, महासंघ सहसचिव शिशिर भट्टराइ लगायत प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
चौतारीमा प्रवेश गरेका सुवेदीले हालै भएको पत्रकार महासंघको निर्वाचनमा संगठनबाट जितेका ९० प्रतिशत पत्रकारहरु केही दिनमा नै चौतारीमा प्रवेश गर्ने बताएका छन् ।
चौतारी प्रवेशपछि सुवेदीले सामाजिक सञ्जालमा ‘आफ्नै सुन्दर छहारी प्रेस चौतारी नेपालमा फिर्ता भएको छु। जालझेल, षड्यन्त्रको खालबाट मुक्त भएको छु’ लेखेका छन् ।
सुवेदीमाथि समाजवादीको ४ आरोप
सुवेदी चौतारी प्रवेश गरेपछि समाजवादी प्रेस संगठनले चार आरोप लगाएको छ ।
संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले प्रेस विज्ञप्तीमार्फत सुवेदीलाई लामो समयसम्म संगठनको बैठक नडाकेको, हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार विरुद्ध लागेको, संगठनको रकम हिनामिना गरेको र संगठनविरुद्ध निरन्तर गतिविधि गरेको आरोप लगाएका छन् ।
सोही आरोपलाई आधार मानि संगठनले विधानको धारा ७.१ को (ग) बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको विज्ञप्तीमा जनाइएको छ ।