लखनचोकमा पृथ्वीनारायणकै शालिक स्थापना गरेर छाड्छौंः राष्ट्र गौरव अभियान

santan ads

नयाँलिपिः पृथ्वीनारायण शाहको ३ सय ३ औं पृथ्वी जयन्तीको अवसरमा पोखराको लखनचोकमा राष्ट्र गौरव अभियानले आगामी वर्षसम्म पृथ्वीनारायण शाहकै शालिक स्थापना गरिछाड्ने बताएको छ ।

अभियानमा अन्य ११ संस्था सहआयोजककारुपमा जोडिएको उक्त कार्यक्रमलाई एकता सभा नाम दिइएको छ ।

सभा शुरु हुनुपूर्व आयोजकले चिप्लढुंगादेखि न्यूरोड हुँदै लखनचोकसम्म पृथ्वीनारायण शाहको फ्लेक्ससहित ¥याली निकालेको थियो । कार्यक्रमस्थल पुगेपछि उक्त फ्लेक्स लखन थापको अघिल्तिर हाइमस्ट बिजुलीको पोलमा ठड्याइएको छ ।

सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अरुण गिरीले पृथ्वीनारायणको २ सय ४ औं जन्मजयन्ती पृथ्वीको शालिक स्थापना गरी पृथ्वीचोकमै मनाउने उद्घोष गरे ।

‘सरकारले नै पृथ्वीजयन्तीको वृहद् कार्यक्रम आयोजना गर्नुपर्छ भनेर बाराम्बार भन्दै आएको हौं’ गिरीले भने ‘तर विडम्बना हाम्रो माग यसपटक पनि सरकारले सुनेन ।’ यद्यपि, प्रदेशका मन्त्री उपस्थित भएकाले यसलाई हामी उपलब्धीकारुपमा लिन्छौं ।’

उनले अर्काे वर्ष सरकारनै आयोजक हुने र पृथ्वीचोकमा कार्यक्रम मनाउने अपेक्षा रहेको बताए । उनले भने ‘आगामी १ वर्षभित्र पृथ्वीनारायणको शालिक पूनस्थापना गर्ने तयारीमा आजैदेखि जुट्छौ र स्थापना गरेरै छाड्छौं ।’

सभामा विशेष वक्ता प्राडा रमेश ढुंगेलले पृथ्वीनारायको योगदानबारे चर्चा गर्दै कुनैपनि पूस्ताले उनलाई भुल्न नहुने उल्लेख गरेका थिए ।

अभियानले अघिल्लो वर्ष पनि उस्तै फ्लेक्स राखेको थियो । पछि झडपको स्थिति नआओस् भनि महानगरपालिका र प्रशासनले उक्त फ्लेक्स त्यहाँबाट हटाएर शहिद पार्कमा लैजाने बताएको थियो ।

सभामा गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

हाल सरकारी कामकाजमा लखनचोक भनिएपनि आम जनबोलीमा उक्त स्थानलाई पृथ्वीचोक नै भनिने गरेको पाइएको छ ।

Scroll to Top