पोखरामा ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध सम्मेलन’ सुरू

santan ads

पोखरा । दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्धको सम्मेलन आज (आईतबार) देखि पोखरामा सुरु भएको छ ।

कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित तीन दिवसीय क्षेत्रीय सम्मेलनको गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट उद्धघाटन गर्दे मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गरे ।

उनले सुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा आधुनिक दासताका रुपमा देखापरेको बताए । मानव बेचबिखन तथा ओसारपसारको समस्यामा विशेष गरी बालिका र महिला प्रभावित भएको भन्दै उनले आधुनिक दासतालाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयत्न भइरहेको सुनाए ।

सम्मेलनमा छिमेकी मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकहरुमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता रहेको छ ।

वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार संसारभर ५ करोड मानिस आधुनिक दासका रूपमा बाँचिरहेका छन् । मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब ३५ हजार व्यक्ति बेचिने गरेका छन् ।

नेपालको संविधान र कानुनले यस अपराधलाई रोकी नागरिकको मानव अधिकारको सम्मान गर्ने प्रयत्न पनि गरेको छ । संविधानको धारा २९ मा शोषण विरुद्धको हक सु्निश्चित गर्दै मानिसलाई बेचबिखन गर्न, दास बनाउन पाइने छैन र इच्छा विरुद्ध काममा लगाउन पाइने छैन भन्ने व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव बेचबिखन र ओसारपसार गर्ने कसुरका विरुद्धमा कानुनी कारबाहीको व्यवस्था छ ।

राष्ट्र सङ्घीय दासत्व महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको १९६३ मै हो। यस्तै, जिउ मास्ने बेच्ने तथा शारीरिक शोषणको दमनको लागि व्यवस्था भएको महासन्धिको १९९५ मा पक्ष राष्ट्र बनेको हो। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धिको नेपालले १९९१ मा अनुमोदन गरेको हो। बाल अधिकार सम्बन्धी महासन्धि १९८९ को पनि नेपाल पक्ष राष्ट्र हो।

नेपालमा वि.सं. १९८१ मै दासत्व उन्मुलन, २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य, २०६३ मा हलिया प्रथा अन्त्य र हरूवा–चरुवा समुदायको मुक्ति घोषणा गरिएको थियो ।

Scroll to Top