पोखरा । नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ ।
समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो ।
कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् ।
कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख २५ हजारको लागत लाग्ने जनाए ।
यसैगरी, समाजसेवी रामजीप्रसाद देवकोटाका परिवारले समितिलाई दान घोषणा गरिएको आठ आना जग्गा समितिको नाममा आएपछि समितिले अन्नपूर्ण गौरव योजनाका रूपमा अगाडि बढाएर लुम्ले ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्रका रूपमा अगाडि बढाउने लक्ष्य समितिको रहेको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडाध्यक्ष एकदेव देवकोटाले कास्कीको लुम्लेलाई आन्तरिक तथा बाह्य पर्यटन आकर्षणको केन्द्र बनाउन सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
समितिका संरक्षक विश्वमोहन गौचनले पार्क निर्माणका लागि परिवारबाट सक्दो सहयोग रहे तापनि लुम्लेवासीको साथ र सहयोग विना त्यो काम अपूरो र अधुरो रहने धारणा राखे ।
लुम्ले ६ का पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ,कविता गाउँ लुम्लेका संस्थापक अध्यक्ष भक्तिराम देवकोटा,समितिका संस्थापक महासचिव सुनिल देवकोटा,पूर्व अध्यक्ष चूडामणि देवकोटा,एकल महिला समूह लुम्लेकी अध्यक्ष जौमाया देवकोटा,देवकोटा बन्धु समाजका केन्द्रीय सचिव कीर्तिनाथ देवकोटा,समाजसेवी कृष्णप्रसाद देवकोटा,समाजसेवी राजन राई,साहित्यकार रविन्द्र माकाजू,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतम,साहित्यकार ढाकामोहन बराल,गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ,कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङ लगायतले कविता पार्कको विषयमा सकारात्मक धारणा व्यक्त गरेको थिए ।