पोखरेली व्यायामको इतिहासमा लेखिएको नामः शंकरमान

santan ads

नयाँलिपिः गत आइतबार राति पोखराले व्यायामको क्षेत्रमा गर्विलो नाम गुमाएको छ । जुन नामको प्रेरणाबाट आज पोखरामा जिम (व्यायामशाला) जाने, सञ्चालन गर्नेजस्ता कामहरु भइरहेका छन् । व्यवसाय र स्वस्थ जीवनलाई एकैपटक अघि बढाउन मियोको भूमिका खेल्ने त्यो नाम हो, वकिलमान तुलाधार अर्थात् शंकरमान ।

०२० सालको असार ६ गते पिता दूधमान र माता सन्तमाया उदासको कोखबाट जेष्ठ सुपुत्रको रूपमा जन्मिएका शंकरमानको गत आइतबार राति करिब साढे १० बजे निधन भएपछि परिवारजनमात्र हैन पोखराको सामाजिक, राजनीतिक र खेल क्षेत्र पनि मर्माहत भएको छ । बाल्यकालदेखि धार्मिक र परोपकारी स्वभावका शंकरमान खेलकुद, राजनीति, शिक्षा र सामाजिक कार्यमा एकसाथ रुची राख्नुहुन्थ्यो ।

बुवा संस्थापक अध्यक्ष रहनुेभएका तत्कालीन शिुशु प्राइमरी स्कुल (ज्ञानभूमि मावि), नदीपुरबाट प्रारम्भिक शिक्षाको सुरुवात भयो । त्यसपछि संस्कृत प्रधान पाठशालादेखि राष्ट्रिय व्यावसायिक माविबाट विद्यालयस्तरको शिक्षा हासिल गर्नुभयो ।

घरको जेठो छोरा भएकाले व्यावहारिक जिम्मेवारी पुरा गर्नुपर्ने दायित्वले उहाँ त्यसपश्चात् पोल्ट्री व्यवसायमा लाग्नु भयो । साथै, केहिपछि उहाँले तामा,पित्तल, चरेसको भाँडाकुँडाको व्यापार पनि गर्नुभयो । व्यवसायलाई रुची र आवश्यकता महशुस गर्नुहुने उहाँ न्यू सिमेन्ट ब्लक ईण्डष्ट्रिजका पनि संस्थापक सफल प्रोपाईटरसमेत हुनुहुन्थ्यो ।

उमेरसँगै उहाँको राजनीतिक चेतना पनि उच्च रहेको थियो । परिवर्तन र प्रजातन्त्रको हिमायति शंकरमानले नेपाली काँग्रेसमा आवद्ध भई क्रियाशील सदस्यता लिएर राजनीति क्षेत्रमासमेत अतुलनीय योगदान पु¥याउनु भएको छ । विभिन्न धार्मिक क्षेत्रमा पनि दान–दक्षिणा दिनुका साथै भौतिक निर्माण कार्यमा पनि उहाँको विशेष योगदान रहेको छ । सूर्य विनायक गुठीको उपाध्यक्ष पदमा रही आधुनिक सुविधासम्पन्न भवन बनाउन उहाँको उत्तिकै योगदान रहेको छ ।

स्कूल जीवनमा राष्ट्रिय सेवा दलमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । सेवा दलमा उहाँ बक्सिङदेखि अन्य साहसिक खेलमा पनि सक्रिय सहभागिता जनाउनु भएको पाइन्छ । सेवा दलको समूहमा उहाँ अब्बल र अनुशासित प्रशिक्षार्थी हुनुहन्थ्यो । ०४२ साल पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकूदमा ऐथलेटिक्सतर्फ २० किमी हिंडाईमा उहाँल्े गण्डकी अञ्चलको प्रतिनिधित्व गर्नुभएको थियो ।

उहाँलाई कालान्तरमा धेरैले चिन्ने, मान्ने र सम्झने नाम भने जिमले दियो । उहाँ पोखरा ब्यायामशालाको संस्थापक हुनुहुन्थ्यो । शारीरिक सुगठनमा सर्वसाधारणको रुची र पहुँचलाई ख्याल गर्दै उहाँले साथी अशोक, सुरेन्द्र र राजकुमारसँग मिलेर व्यायामशाला सञ्चालन गर्नुभयो । साथै, पोखरा जेसीजको कार्यक्रममा पहिलो पटक शारिरीक सुगठनको कला प्रस्तुत गर्नु भएको थियो । त्यसपछि शारिरीक सुगठनको क्षेत्रमा उहाँ मृत्युपर्यन्त रहनुभएको छ ।

यसैबीच, शारीरिक सुगठनलाई बृहतरुपमा बिस्तार गर्न सुविधा सम्पन्न ब्यायामशाला स्थापना गर्न उहाँ लाग्नुभयो । सोहीक्रममा ब्यायामशालाको नामाकरण गर्ने समयमा परिवारिक छलफलपछि पूर्खाको नाम र सम्झनालाई र अमरत्व दिने उद्देश्यअनुरुपम हजुरबुबा खरदार स्व. रत्नमान उदासको नाममा ‘रत्नश्री’ नामाकरण गरी रत्नश्री जीम स्थापना गर्नु भयो । सोही जीमबाट पोखरामा शारिरीक सुगठन खेललाई जनमानसमा पु¥याउन उहाँको अतुलनीय योगदान रहेको छ ।

पोखरामा भएका प्रायः ब्यायामशालाहरू उहाँबाट नै प्रशिक्षार्थी भै प्रेरणा पाएर खोलेका व्यामशालाहरू छन् । उहाँले स्थापना गरेको रत्नश्री जीमका प्रशिक्षार्थी खेलाडीहरूले राष्ट्रीय अन्तर्राष्ट्रीय क्षेत्रमा पनि पदक हासिल गरिसकेका छन् । उहाँको नेतृत्वमा गएका अन्तर्राष्ट्रीय खेलमा कहिल्यै पदकविहीन भई फर्कन नपरेको ईतिहास छ ।

उहाँले शारिरीक सुगठन खेलको क्षेत्रमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका पनि सफलता पूर्वक निभाउनु भएको थियो । उहाँको नेतृत्वमा अन्तर्राष्ट्रिय मुलुकहरूमा छिमेकी राष्ट्र भारत, चीनका साथै माल्दिभ्स, थाईलैण्ड, सिंगापुर, श्रीलंका, भियतनाम लगायतकादेशहरूमा सहभागिता जनाएको थियो ।

आबद्ध संघसंस्थाहरूः
उपाध्यक्ष– नेपाल शारिरीक सुगठन तथा फिट्नेस फेडेरेशन ।
अध्यक्ष– गण्डकी प्रदेश शारिरीक सुगठन ।
नि.वर्तमान अध्यक्ष – कास्की जिल्ला शारिरीक सुगठन तथा फिट्नेश संघ ।
संरक्षक तथा सल्लाहकार– पोखरा शारिरीक सुगठन संघका ।
उपाध्यक्ष– विरेन्द्र स्मृति पार्क, नदिपुर ।
संस्थापक अध्यक्ष– कास्की जिल्ला जिम व्यवसायी संघ ।

Scroll to Top