दिपक के श्रेष्ठः
महोत्सवै महोत्सवकाबीच पोखरामा यतिबेला हट एयर बलुन फेस्टिभल पनि चलिरहेको छ । यही ९ गतेदेखि सुरु भएको बलुन फेस्टिभल १८ गते बल्ल टुंगिनेछ ।
पोखरामा पर्यटकलक्षित कुनैपनि फेस्टिभल लामो समयसम्म आयोजना भएको यो नै पहिलो हो । अन्तर्राष्ट्रिय बलुन महोत्सवमा अमेरिका, स्पेन, जापान दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्याण्ड, भियतनामालगायत ३२ देशका बलुन पाइलट यतिबेला पोखरामा छन् । महोत्सवमा हरेक साँझ आतसबाजी प्रदर्शन, बलुन दौड र क्याम्पिङकासाथै कन्सर्ट आयोजना भइरहेको छ ।
पोखराको पश्चिमी फाँट चंखपुरमा यतिबेला छुट्टै रौनक छ । लेकसाइडको जरेबरबाट निशूल्क बस सेवा दिइएकाले नौलो महोत्सवमा पोखरेलीलगायतको आकर्षण देख्न सकिन्छ । महोत्सवको यही माहौलमा भेटिए बलुन पाइलट डेरेक हान्कक ।
बेलायती मूलका हान्कक अमेरिका बस्छन् । अर्थात् उनी अमेरिकी नागरिक भइसके । ६७ वर्षका उनी बलुन फेस्टिभलमा भाग लिन यतिबेला चंखपुरको फाँटमा छन् । फेस्टिभलमा सहभागी पाइलटमध्ये आफु नै सबैभन्दा कान्छो र तन्नेरी भएको उनी बताउँछन् । हान्कक भन्छन् ‘उमेरतिर नजाम्, म सबैभन्दा कान्छो पाइलट हुँ ।’
२७ वर्ष अघि ओरेगनमा हट एयर बलुनको तालिम खुलेको र इच्छुकले आवेदन दिन भनिएको सूचना पाएपछि हान्ककले कत्तिपनि ढिला नगरी फाराम बोकेर पुगेपछि साता दिनपछि उनी बलुन पाइलटको तालिम लिन सुरु गरेका हुन् । ‘आकाशमा उड्न आर्मीका प्यारापाइलटबाहेक अरुले पाउँदैन थिए’ मलाई उड्ने रहर थियो, त्यसैले ओरेगनको फ्लाइट ट्रेनिङ स्कुलमा भर्ना भए ।’
त्यसबेलाको क्षण सम्झँदै उनले भने ‘आज यहाँ जसरी बलुन हेर्न भीड लागेको छ, त्यतिबेला ओरेगनमा पनि यसरी नै स्थानीय झुम्मिन्थे ।’ उनको पहिलो रजिस्टर्ड उडान ओरेगनबाटै सुरु भयो । एक वर्ष शौखकारुपमा बलुन उडाएपछि ओरेगनस्थित ब्लू नाइट बलुन कम्पनीले जागिरको प्रस्ताव राखेपछि उनी व्यावसायिक पाइलटमा दरिए । ‘त्यहाँको चर्चित बलुन कम्पनीले बोलाएपछि त्यहीबाट म निरन्तर व्यावसायिक उडानमा लागेको छ’ हान्ककले भने ।
त्यसयता हान्ककले करिब ३ हजार ५ सय घण्टा व्यावसायिक पाइलटकारुपमा आकाशमा बिताइसकेका छन् । उनको गणनाअनुसार २५ देशमा उनले बलुन उडाइसकेका छन् । पोखराको माहौलबाट लोभिएका हान्कक फेस्टिभल आयोजना भए अर्काे वर्ष पनि पोखरा आउने निश्चित भएको बताउँछन् ।
बलुन उडाउन जहाँ पनि मिल्ने बताउँदै त्यहाँको भौगोलिक दृश्य र प्राकृतिक छटाले त्यसको महत्व बढाउने दाबी गर्छन् । पाइलट उड्न समस्या नहुने बताउँदै उनले भने ‘व्यावसायिक उडानकालागि पर्यटक र यात्रुहरुले दृश्यलाई महत्व दिन्छन्, सोही अनुरुप पोखरा पनि बलुन व्यवसायको लागि उपयुक्त छ ।’
‘बलुन उडानमा पोखराको दृश्य र भूगोललाई कसरी रेटिङ गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा हान्कक भन्छन् ‘सबै ठाउँको आफ्नै विशेषता छ, पोखरा पनि सुन्दर छ, मलाई मन प¥यो तर दक्षिण अमेरिकाको चिले सबैभन्दा बेस्ट छ ।’