नयाँलिपिः पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबीबीएस अध्ययनार्थ छात्रवृृत्ति दिने योजना फ्लप भएपछि मेयर धनराज आचार्य र नगरपालिकानै आलोचित भएको छ ।
आफ्नालाई पोस्न ल्याइएको भन्दै नेपाली कांग्रेसका अधिकांश वडाध्यक्षले विरोध जनाएपछि कोरियामा रहेका मेयर आचार्यले फेसबुक स्टाटसमार्फत हाललाई रोकिएको जनाएका थिए त्यसपश्चात् शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले उक्त कार्यक्रम रद्द भएको बताए ।
यसअघि निर्देशक आचार्यले छात्रवृत्तिको बचाउँँ गर्दै सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका थिए ।
पोखरा महानगरको ठिक विपरित दाङको घोराही उपमहानगरपालिकाले भने स्थानीयवासीलाई प्राथमिकतामा राखेर छात्रवृत्तिको सूचना सार्वजनिक गरेको छ ।
घोराही उपमहानगरले यही ९ गते सूचना जारी गर्दै सामुदायिक विद्यालयबाट एसइइ र प्लस टू उत्तीर्ण गरी डाक्टर र इन्जिनियरमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएको छ । १ महिनाभित्र सामाजिक विकास महाशाखामा निवेदन दिने म्याद राखिएको सूचनामा डाक्टरका विद्यार्थीलाई एक मुष्ट पाँच र इन्जिनियर पढ्नेलाई एक मुष्ट तीन लाख रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।
महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले धनीमानीका छोराछोेरी बोर्डिङमा पढ्न र डाक्टर इन्जिनियर बन्न आफै खर्च गर्न सक्ने भएकाले निमुखा र विपन्नलाई लक्षित गरी छात्रवृत्ति ल्याइएको जनाए ।
कार्यपालिकाको बैठकबाट पारित भएपछि महाशाखाले सूचना जारी गरेको उनको भनाई छ ।
‘पोखरामा जनप्रतिनिधिका बच्चालाई लक्षित गरेर एमबीबीएसको छात्रवृत्ति दिन खोजेको सुनेको थिए’ पौडेलले भने ‘हामीले घोराहीका गरिब, निमुखालाई डाक्टर, इन्जिनियर बनाउन खोजेका हौ ।’
छात्रवृत्ति विद्यार्थीले प्राप्त गरेको जिपिएलाई प्रमुख आधार मानिने बताइएको छ। छात्रवृत्तिका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपी, विद्यालयमा भर्ना भएको रसिद वा परिचय पत्र र हाल अध्यनरत संस्थाको पत्र उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।