सूर्यदर्शनको मुद्धामा तानिए ढोरपाटनका मेयर देवकुमार र पूर्वसांसद मिना

नयाँलिपिः पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्धामा रवि लामिछानेसहित देवकुमार नेपाली र मिना गुरुङ पनि तानिएका छन् ।

नेपाली ढोरपाटन नगरपालिका, बागलुङका मेयर हुन् भने गुरुङ नेकपा एमालेबाट गण्डकी प्रदेशको पूर्वसभासद् हुन् । जसमध्ये गुरुङलाई कास्की अदालतले प्रतिवादी ठहर गर्दै फरारको सूचीमा राखेको छ ।

नेपालीलाई सूर्यदर्शन सहकारीको पूर्वअध्यक्ष र गुरुङलाई पूर्वउपाध्यक्षकारुपमा प्रतिवादी बनाइएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीलाई असोजको दोस्रो हप्ता भारतबाट पक्राउ गरिएको थियो । नेपालीमाथि इमेज सहकारीका बचतकर्ताको करिब २ अर्ब रुपैयाँ अपचलन गरेको छुट्टै मुद्धा रहेको छ ।

यस विषयमा मिना गुरुङसँग सम्पर्क गर्दा उनले आफु फरार नभएको प्रतिक्रिया दिएकी छिन् । ‘मैले पनि बल्ल थाहा पाउँदैछु, म ठगीमा मतियार भएको, फरार रहेको सुन्दा अचम्म लाग्यो’ पूर्वसांसद गुरुङ भन्छिन् ‘मैले जमानामा राजीनामा दिएर जिम्मा लगाएकी हुँ, म घरमै बसिरहेकी छु ।’

गुरुङले राजीनामापछि सहकारी डिभिजनको कार्यालयमा पनि जानकारी दिइसकेको बताउँदै हाल अदालतको अभियोगपत्रमा फरार उल्लेख गर्दा आफु र परिवारमाथि गाली–बेइज्जती भएको, सामाजिक प्रतिष्ठामाथि आँच पु¥याएको भन्दै मानहानीको मुद्धा दायर गर्न कानूनी सल्लाहकारसँग सल्लाह लिइरहेको जनाइन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा लामिछानेसहित ६३ जना व्यक्ति र संस्थाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

Scroll to Top