रविको तस्बिरबाट कास्की प्रहरीको निशानामा परे डा. निकोलस

नयाँलिपिः कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न आक्षेपको सामना गरिरहेको कास्की प्रहरी अब भने उक्त व्यक्ति पत्ता लागेको भन्दै कारवाहीको प्रक्रियामा जुटेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हालै विज्ञप्तिमार्फ उक्त व्यक्ति डा. निकोलस भुसाल रहेको जनाउँदै कारवाही गर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साईबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृतरुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याइने’ उल्लेख छ ।

यही विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो राखेपछि कास्की प्रहरी सक्रिय भएको हो । त्यसो त प्रहरीले तस्बिर लिने र सार्वजनिक गर्नेको खोजी गरिरहेकाबेला स्वयं भुसालले आफ्नो गल्ती भएको भन्दै तस्बिर खिचेको स्वीकारेका छन् ।

भुसालले सामाजिक सञ्जालमा तस्बिर पोष्ट्याएको केही समयमै हटाएपनि रास्वपा कार्यकर्ताले उक्त तस्बिर पुनः सञ्जालमा राखेपछि यस विषयमा गम्भीर बहस सुरु भएको थियो ।

Scroll to Top