नयाँलिपि/तनहुँः आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत डा.लालबहादुर क्षेत्रीले विभागले ४ अर्ब ५० करोड ५३ लाख ७५ हजार लक्ष्य दिएकोमा पाँच अर्ब छ करोड ६९ लाख ४२ हजार राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो ।
सङ्कलित राजस्व ११२ प्रतिशत हो । गत वर्ष भन्दा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । सूचना अधिकारी तथा कर अधिकृत ठाकुरप्रसाद सुवेदीले गत आर्थिक वर्षको भन्दा ६८ करोड ६४ लाख ७४ हजार अर्थात १५।६७ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा मङ्सिर सम्ममा पाँच अर्ब ६८ करोड ५२ लाख लक्ष्य राखिएकोमा चार अर्ब ३८ करोड चार लाख ८० हजार सङ्कलन भएको थियो । सुवेदीले भन्नुभयो, ‘यसवर्ष अर्थतन्त्रमा सुधार भई आर्थिक चहलपहलमा वृद्धि हुँदा गत वर्ष भन्दा १५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन भएको छ ।’
सुवेदीका अनुसार विभागले चालु आवका लागि यस कार्यालयलाई १४ अर्ब तीन करोड ३४ लाख ४७ हजारको लक्ष्य दिएको छ । जिल्लामा हाल ८२ हजार चार सय ७३ करदाता रहेका छन् । तीमध्ये २४ हजार सात सय १३ व्यवसायी, ५२ हजार सात सय १३ व्यक्तिगत र दुई हजार पाँच सय ९४ अन्तशुल्क छन् । त्यस्तै भ्याटमा दर्ता भएका दुई हजार तीन सय १४ छन् ।