‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को निम्तो दिन आयोजक पोखरामा

पोखरा । १८ औ चितवन हात्ती तथा पर्यटन महोत्सवको निम्तो दिन आयोजक क्षेत्रिय होटल संघ नेपाल चितवनका पदाधिकारी पोखरा आएका छन । उनीहरुले आज (मंगलबार) पोखराको लेकसाईडमा पत्रकार सम्मेलन गरि पोखरेलीलाई चितवन हात्ती तथा पर्यटन महोत्सवको निम्ता दिन आएको बताएका छन ।

चितवन सौराहाको रत्ननगर बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस ११ गते देखि १५ गतेसम्म महोत्सव संचालन हुदैछ । अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दे हरेक वर्ष आयोजना हुदै आएको महोत्सव यस वर्ष पनि निरन्तरता दिन लागेको आयोजकले जनाएको हो । क्षेत्रिय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको महोत्सवमा युनाईटेड हात्ती संचालन संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सह आयोजकको रुपमा रहेकोे छ ।

२०५५ सालबाट सुरुभएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको चितवन हात्ती तथा पयर्टन महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिन पाउँदा उत्साहित बनेको संघले जनाएको छ ।
विश्व सम्पदामा सूचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुन्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको छ ।

कोरोना महामारी र आर्थिकमन्दीले थलिएर तंग्रिदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न महोत्सव ले सहयोग गर्ने उनीहरुको बताएका छन ।

महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ ।

५ दिन सम्म संचालन हुने महोत्सवमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम,हात्ती श्रृँगार प्रतियोगिता,हात्ती वनभोज, हात्तीको मैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर,पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता,स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग बि टु बि,चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बधि अन्र्तक्रिया कार्यक्रम,स्थानीय भेषभुषा तथा कला सँस्कृति सहित झाँकी प्रदर्शन,राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्धारा दैनिक साँस्कृतिक कार्यक्रम,महिला उद्यमी तथा कृषि उत्पादनको प्रवर्धन लगायतका कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।

महोत्सव अन्तरगत विभिन्न गतिविधिमा निजि र सरकारी गरि करिब ११० वटा जति हात्ती सहभागी हुने १८ औ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ का कार्यक्रम संयोजक रामकुमार अर्यालले बताए ।

 

Scroll to Top